अमेरिकामा आर्थिक राहत कार्यक्रममा कटौती

  • 30 जनवरी 2014
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ
Image caption अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले अमेरिकी अर्थतन्त्र बलियो हुंदै गैरहेको बताएको छ

संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंक, फेडरल रिजर्भले देशको अर्थतन्त्रलाई सकृय तुल्याउन अपनाइएको मौद्रिक नीतिमा थप कटौती गरेको छ।

फेडरल रिजर्भले हरेक महिना अमेरिकी वित्त बजारमा आफूले प्रवाह गर्ने गरेको रकमलाई दश अर्ब डलरले कम गर्ने योजना गरेको छ।

त्यसरी रकम प्रवाह कम गर्न कदम चालिएको यो दोस्रो पटक हो।

फेडरल रिजर्भको प्रमुख नीति निर्माता कमिटिको विज्ञप्तीमा देशको अर्थतन्त्र बलियो हुंदै गएको तथ्यमाथि जोड दिइएको छ।

सुदृढ

फेडरल रिजर्भको निर्णयले अमेरिकी अर्थतन्त्र सुदृढ हुंदै गएको अवस्थामा नयां छापीएको पैसाले वित्तीय सम्पत्तिहरु किनेर बजारमा पैसा पठाइ अर्थतन्त्रलाई सकृय तुल्याइरहनु पर्ने आवश्यकता नरहेको भन्ने संकेत दिएको छ।

त्यसरी बजारमा पैसाको प्रवाह बढाउने "क्वान्टीटेटिभ इजींङ्" भनिने वित्तीय राहत कार्यक्रमका कारण वित्त बजारमा ऋणको ब्याजदर कम तुल्याइराख्‍न सघाउ पुगेको थियो।

तर गत बर्ष नै फेडरल रिजर्भले त्यस्तो राहत कार्यक्रममा कटौती गर्न लागेको संकेत गरे देखि नै ब्याजको दर बढ्न थालेको थियो।

फेडरल रिजर्भले "क्वान्टीटेटिभ इजींङ्" को नी‌तिलाई विस्तारै बन्द गर्दैछ भन्ने अनुमानपछि, बढी लाभ हुने आशामा लगानीकर्ताहरुले उदाउंदो बजारहरुबाट पैसा निकालेर अमेरिकी वित्तीय सम्पत्तिहरु खरिद गरिरहेका छन्।

भाउ कम

तस्वीर कपीराइट PA
Image caption उदाउंदो अर्थतन्त्रहरुमा अमेरिकी डलरको भाउ बढ्न सक्ने चिन्ता व्यक्त गरिंदैछ

जुन कार्यबाट त्यस्ता देशहरुको मुद्राको भाउ कम हुन गएको छ।

ति देशहरु मध्येको एक, टर्कीले आफ्नाे अन्तर्राष्ट्रिय ब्यापार घाटालाई नियन्त्रण गर्न विदेशबाट सापटी लिनु परेको छ।

अन्य देशमा मुद्रास्फितीको समस्या देखिएको छ, जस्लाई मुद्राको कमजोर स्थितीले झन चर्काइदिंदा, आयात गरिएका सामानहरु अझ महंगो हुन जानेछन्।

यिनै गतिविधिहरुका माझ अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिका लगायत अन्य विकसित देशका अनर्थतन्त्रहरु विस्तारै सामान्य अवस्थामा फर्कंदै गर्दा वित्त बजारहरुमा अस्थीरता देखिने भनी सावधान गराएको छ।