सहमतीय सरकार बन्ने सम्भावना न्यून

  • 1 फेब्रुअरी 2014
तस्वीर कपीराइट AP
Image caption सरकार गठनमा हुने ढिलाईको असर स‌ंविधान निर्माणमा पर्ने निश्चित छ

संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले बहुमतीय सरकार बनाउने संकेत गरेको छ।

शनिबार बसेको सर्वदलीय बैठकपछि नेपाली कांग्रेसका नेताहरुले सहमतीय सरकार गठनका लागि अब राष्ट्रपतिसँग थप समय नमाग्ने बताएका छन्।

तर भावी सरकारको खाकाबारे भने उनीहरुले मुख खोलेका छैनन्।

राष्ट्रपतिले दलहरूलाई दिएको समयसीमा सकिन लाग्दा बहुमतीय सरकार बन्ने सम्भावना बढ्दै गएको छ।

बहुमतीय

आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहमति जुटाउन शनिबार बोलाएको सर्वदलीय बैठकपछि नेपाली कांग्रेसका नेताहरुले बहुमतीय सरकार गठन हुने संकेत गरेका छन्।

सो पार्टीका प्रवक्ता दिलेन्द्र बडुले सहमतिका लागि आईतबार पनि प्रयास गरिने र सहमति नभए राष्ट्रपतिसँग थप समय नमागिने बताए।

उनले भने, ‘’हामीले भोलि फेरि बैठक बोलाएका छौं। सकेसम्म सहमतीय सरकार बनाउने हो, तर सहमतिको नाममा हामीले थप समय माग्ने छैनौं।‘’

सहमतीय सरकार गठनका निम्ति राष्ट्रपतिले दिएको एक हप्ते म्याद आईतबार सकिदै छ।

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समयसीमा घर्किदै जाँदा नेपाली कांग्रेसले दलीय छलफललाई तीव्रता दिएको हो।

अनुपस्थित

त्यसैक्रममा उसले शनिबार बोलाएको सर्वदलीय बैठकमा एकीकृत नेकपा माओवादी जाँदै गएन भने संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेका शीर्ष नेताहरु अनुपस्थित रहे ।

एमालेको तर्फबाट बैठकमा सहभागी नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ्गको भनाईबाट पनि सहमतीय भन्दा बहुमतीय सरकारको सम्भावना बढ्दै गएको छनक मिल्छ।

उनले भने, ‘’सहमतीय सरकार गठन नभए बहुमतीय सरकारमै जानुपर्ने हुन्छ। तर आईतबार राष्ट्रपतिकहाँ जानुअघि फेरि छलफल हुन्छ र त्यसपछि मात्र टुङ्गो लाग्ने छ।‘’

बहुमतीय सरकार बन्न ३०१ सभासद् चाहिन्छ।

सविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग १९६ सभासद् छन भने सरकार गठनका लागि उसले सहमति जुटाउन खोजिरहेको दोस्रो ठूलो दल नेकपा एमालेसँग १७५ सीट छ।

शक्ति बाँडफाँडबारे एमालेको चित्त बुझाउन नसके कांग्रेसले अन्य दलसँग गठबन्धन गर्नुपर्ने हुन्छ।