स‌ंगठनात्मक विवादको टुंगो सम्मेलनबाट

  • 2 फेब्रुअरी 2014
तस्वीर कपीराइट AFP
Image caption केन्द्रीय समितिले अध्यक्ष प्रचण्डलाई स‌ंसदीय दलको नेता चयन गरेको छ

एकीकृत माओवादीको संगठनात्मक विवादलाई वैशाखमा हुने पार्टीको राष्ट्रिय सम्मेलनमार्फत हल गरिने नेताहरुले बताएका छन्।

पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले राखेको नेतृत्व हस्तान्तरणको मुद्दाको विपक्षमा अध्यक्ष प्रचण्ड उभिएका थिए।

शनिबार सकिएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चुन्दै राष्ट्रिय सम्मेलनमार्फत विवादित विषय हल गर्ने निर्णय गरेको छ।

विवाद

यसअघि पूर्व उपाध्यक्ष भट्टराईले पार्टीका सांगठनिक र वैचारिक विवाद हल गर्न विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए।

तर केन्द्रीय समितिले नेताहरुको जिम्मेवारीमा हेरफेर गर्दै राष्ट्रिय सम्मेलन मार्फत विवादित विषय हल गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले बताए।

उनले भने, “राष्ट्रिय सम्मेलन सम्मका कार्यसूचीहरु र कार्यविभाजन हेर्दाखेरी केन्द्रीय समितिको वैठक पार्टी निर्माणको नयाँ कोसेढुगांका रूपमा हामीले बुझेका छौं, संगठनात्मक प्रणालीकाबारेमा हाम्रो पार्टीमा पहिलेदेखि नै छलफलमा थियो त्यसलाई हामीले राष्ट्रिय सम्मेलनमार्फत टुंग्याउने निर्णय गरेका छौं।”

राष्ट्रिय सम्मेलन अघि सबै केन्द्रीय सदस्य तलबाट प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने निर्णय पनि बैठकले गरेको छ।

गएको वर्ष हेटौंडामा भएको राष्ट्रिय महाधिवेशनमा शीर्ष नेताहरुबीच भएको सहमति अनुसार नेताहरु चयन भएको भएपनि विवादका कारण केन्द्रीय समितिले पूर्णता पाएको थिएन।

सुझाव

बैठकमा नेता भट्टराइले एउटै व्यक्ति लामो समय नेतृत्वमा रहने परिपाटी अन्त्य हुनुपर्ने सहितका बुँदा समेटिएको लिखित सुझाव राखेका थिए।

अर्का पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रियताका मुद्दामा पार्टीले अडान लिनुपर्ने र सरकारमा रहंदा जनताको पक्षमा काम गर्न नसकेको स्विकार्नु पर्ने सुझाव दिएका थिए।

“पछिल्लो चुनावको मतगणनाबाट बाहिर निस्कनु गल्ती भयो र त्यसपछिका केही गतिविधिले भ्रम पैदा गरेको छ, त्यो सच्याइनुपर्छ,” श्रेष्ठले भने।

उपलब्धिहीन

केन्द्रीय समितिले विवाद हल गर्नुको साटो झन् बढाएको वामपन्थी विश्लेषक मुमाराम खनाल बताउँछन्।

“अघिल्लो महाधिवेशनमा बाबुराम मौन बसेका थिए त्यही भएर अहिले पार्टीको कार्यनीति र संगठनबारे बल्ल छलफल सुरु भएको छ, यसपटक कुनै उपलब्धिमूलक निर्णय भएको छैन।”

हेटौडामा भएको महाधिवेशनबाट नै छताछुल्ल भएको संगठानात्मक विवादलाई थाती राख्दै एकीकृत माओवादी दोस्रो सविधानसभा चुनावमा गएको थियो।

तर चुनावमा भएको पराजय पछि दलभित्रको अन्तरसघर्ष बढ्दै गएको छ।

महाधिवेशनदेखिको विवाद राष्ट्रिय सम्मेलनमार्फत हल गर्न जटिल हुने विश्लेषकहरु बताउँछन्।