क्यान्सर विकराल रुपले फैलिँदै गरेको चेतावनी

  • 6 फेब्रुअरी 2014
क्यान्सर उपचार तस्वीर कपीराइट AFP
Image caption क्यान्सर उपचारको खर्च स‌ंसारभर बढेको बताइन्छ

संसारमा हाल प्रत्येक वर्ष १ करोड ४० लाख मानिसलाई क्यान्सर लाग्ने गरेको छ।

उक्त संख्या आउँदो दुइ दशकमा २ करोड ४० लाख पुग्ने अनुमान गरिएको छ।

विश्व स्वास्थ्य संगठनको अनुसन्धानसम्बन्धी अन्तराष्ट्रीय एजेन्सीले क्यान्सरको उपचार खर्चपनि बेलगाम बढिरहेको जनाएको छ।

उसले संसारभरका सरकारहरुले आफ्ना जनतामाझ व्याप्त धुमपान, मद्यपान तथा मोटोपनाको समस्या नियन्त्रण गर्न जरुरी रहेको बताएको छ।

सावधानी

सावधानी अपनाइए क्यान्सरको समस्यालाई आधा कम गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय एजेन्सीका निर्देशक क्रिस वाइल्डले जनसंख्या, खासगरी, प्रौढहरुको जनसंख्या वृद्धिलाई क्यान्सरको वृद्धिसँग जोडेर हेरिनुपर्ने बताए।

क्यान्सर उपचारको खर्च हेर्ने हो भने यो धनी देशहरुकै लागि पनि तिनको आर्थिक हैसियतबाहिर गइरहेको बताउँदै उनले सावधनी अपनाउन हेलचेक्रयाइँ गर्न नहुनेमा जोड दिएका छन्।

धेरै जसो देशहरुमा महिलालाई स्तन क्यान्सर हुने कुरा सामान्य भएको छ।

यद्यपि अफ्रिकाको धेरै ठाउँमा भने पाठेघरको क्यान्सर बढी देखिएको छ।

ह्युमन पेपिलोमा भाइरस र अन्य किसिमका भ्याक्सिन प्रयोग गर्दा धेरै हदसम्म क्यान्सर रोक्न सकिने विश्वास गरिन्छ।

नेपालको अवस्था

तस्वीर कपीराइट SPL
Image caption महिलाहरुमाझ सबभन्दा धेरै स्तन क्यान्सर देखिने गरेको पाइन्छ

विश्वका अन्य मुलुकमा जस्तै नेपालमापनि क्यान्सरको जोखिम बढेकै पाइन्छ।

वार्षिक २० हजारको संख्यामा नेपालीहरु क्यान्सरको शिकार हुने गरेको बताइन्छ। जसमध्ये सामान्यतया करीब ११ हजार महिला अनि ९ हजार पुरुष रहने गरेको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डाक्टर प्रकाशराज न्यौपानेले बताए।

पुरुषहरुमा खासगरी फोक्सोको क्यान्सर पाइन्छ भने महिलाहरुमा पाठेघर तथा स्तन क्यान्सर ज्यादा पाइने गरेको छ।

न्यौपानेका अनुसार हाल नेपालमा क्यान्सर उपचारका निम्ति सबै सुविधा उपलब्ध छन्। ‘हामी ८० देखि ९० प्रतिशत क्यान्सर रोगको उपचार देशभित्रै गर्न सक्छौ,’ उनले भने।

शुरुकै अवस्थामा क्यान्सर पत्ता लागे धेरैजसो उपचारबाट निको हुन सक्ने उनको भनाई थियो।

खासगरी जीवनशैलीमा परिवर्तन अनि कसरत गर्ने बानी तथा फलफूल र सागसब्जीको प्रयोग गरे क्यान्सरलाई केही हदसम्म नियन्त्रण गर्न सकिने उनले जनाए।