‌'संसदीय दलको नेतामा सहमति जुट्दै'

  • 4 फेब्रुअरी 2014
jn
Image caption अध्यक्ष झलनाथ खनाललाई वरिष्ठ नेता माधव नेपालको समर्थन रहेको ठानिएको छ

संसदीय दलको नेता चयनबारे तीव्र रुपमा विभाजित देखिएको नेकपा एमालेका शीर्ष नेताहरु त्यसविषयमा सहमति नजिक पुगेको उक्त पार्टीका एक जना सचिवले बताएका छन्।

संसदीय दलको नेताको आंकाक्षी रहेका अध्यक्ष झलनाथ खनाल र अर्का प्रभावशाली नेता केपी ओलीबीच सोमबार राति छलफल भएको र त्यसक्रममा उनीहरु सहमति निकट आएको बताइएको छ।

सहमति

उपाध्यक्ष वामदेव गौतम र नेता ओलीबीचको गठजोडको पक्षमा देखिएको ठानिएका एमाले सचिव विष्णु पौडेलले शीर्ष नेताहरु सहमति निकट पुगेको र अब संसदीय दलको नेताको चयन सर्वसम्मतिबाट हुने संकेत देखिएको बताए।

उनले भने, "सहमति हुने संकेत देखिएको छ। संसदीय दलको उम्मेदवार बनेका दुवै शीर्ष नेताले एकअर्कासंग छलफल गर्नुभएको छ र उहांहरु सहमति नजिक पुग्नुभएको छ”।

यद्यपि उक्त सहमतिको खाकाबारे भने उनले प्रष्ट बताउन चाहेनन्।

तर एमालेका स्रोतहरुले अध्यक्ष खनाललाई भावी राष्ट्रपतिको उम्मेदवारका रुपमा प्रस्तुत गर्ने र ओलीलाई संसदीय दलको नेताको रुपमा अघि सार्ने सहमति हुने संकेतहरु देखिएको दावी गरेका छन्।

चुनाव

तर अध्यक्ष खनाल पक्षधरहरुले पार्टी प्रमुख नै संसदीय दलको नेता हुनुपर्ने भन्दै शीर्ष नेताहरुबीच अन्य महत्वपूर्ण पद भने बांडफांड हुनसक्ने बताउंदै आएका छन्।

खनाल निकट मानिने नेता भीम आचार्य भन्छन्, "संसदीय दलको नेता अध्यक्षले लिने र अन्य महत्वपूर्ण पद नेताहरुबीच बांडफांड गर्ने भन्ने हो”।

मंगलबार बिहान ११ बजेसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए त्यसपछि डाकिएको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताको चुनावको प्रक्रिया अगाडि बढाउने बताइएको छ।