'सहमति नभए कोइरालालाई नसघाउने'

  • 5 फेब्रुअरी 2014
तस्वीर कपीराइट uml
Image caption कांग्रेस र एमालेबीचको मतभेदले माघ २७ गते हुने निर्वाचन परिणाममुखी हुनेमा धेरैको आशंका छ

नेकपा एमालेले प्रधानमन्त्री चुनाव अघि सत्ता समीकरण बारे सहमति भए मात्र प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका उम्मेद्वारलाई सघाउने बताएको छ।

नेपाली कांग्रेसले भने संसदमा हुने निर्वाचन अघि एमालेसँग सहमतिमा पुगिने जनाएको छ।

संविधानसभाको दोस्रो ठूलो दल एमालेले यस अघि पनि सबैभन्दा ठूलो दल कांग्रेससँग सरकार गठन बारे औपचारिक खाका ल्याउन आग्रह गर्दै आएको छ।

बाँडफाँड

एमालेका नेताहरुले व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि निर्वाचन हुनुअघि नै मन्त्रालय बाँडफाँड लगायत महत्वपूर्ण विषयमा सहमति भइ सक्नुपर्ने बताएका छन्।

सो पार्टीका सचिव शंकर पोखरेलले सहमति नभए प्रधानमन्त्रीका लागि कांग्रेसको उम्मेद्वारलाई नसघाउने बताए।

उनले भने, ‘’संविधानसभाका अध्यक्ष तथा उपाध्यक्ष र मन्त्रालय बाँडफाँड लगायतका विषयमा कांग्रेससँग सहमति नभए हामी प्रतिपक्षमा बस्छौं।‘’

एक वर्षका लागि राष्ट्रपतिको निर्वाचन नगर्ने भए कांग्रेसले महत्वपूर्ण मन्त्रालयका लागि दाबी गर्न नहुने एमालेका नेताहरुले बताउँदै आएका छन्।

कांग्रेसका नेताहरुले भने संविधानसभाका दुई ठूला दलबीच सम्मानजनक रुपमा सत्ता समीकरण हुनुपर्ने तर्क गर्दै आएका छन्।

मतभेद

सरकार निर्माणका लागि पहिलो प्राथमिकता नेकपा एमाले भएको र बाहिर मतभेदका कुरा सुनिए पनि अन्ततः दुई दलबीच सरकार गठन बारे सहमति हुने कांग्रेसका नेता मिनेन्द्र रिजाल बताउँछन्।

उनले भने, ‘’बाहिर फरक-फरक कुराहरु आउने गरे पनि वार्तामा बसेपछि सहमतिमा पुगिन्छ।‘’

संसदको कार्यव्यवस्था परामर्श समितिको सुझावका आधारमा सभामुखले बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि आउँदो साता माघ २७ गते बिहान ११ बजे मतदान हुने गरि निर्वाचन कार्यक्रम घोषणा गरेका छन्।

निर्वाचन कार्यक्रम अनुसार आउँदो शनिबार र आइतबार उम्मेद्वारी दर्ता गरिनेछ भने आइतबार साँझ साढे पाँच बजे उम्मेद्वारको सुची प्रकाशित हुनेछ।

अघिल्लो संसदमा दलहरु बीच सहमति नहुँदा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा १७ पटक पराजित भएका थिए।

चुनाव अघि दलीय सहमति नभए यस पटकको चुनाव पनि अनिर्णित हुन सक्ने कतिपयको बुझाई छ।