‘बाल यौनदुराचारीलाई’ तत्काल हटाउन भ्याटिकनलाई आग्रह

  • 5 फेब्रुअरी 2014
भ्याटिकन तस्वीर कपीराइट Getty
Image caption राष्ट्रसंघको प्रतिवेदनलाई भ्याटिकनले परीक्षण गर्ने बताएको छ

रोमन क्याथलिक चर्चलाई बाल दुराचारमा आरोपित सम्पूर्ण पादरी तथा गिर्जाघरका कर्मचारीहरुलाई तत्काल हटाउन अनि तिनलाई न्याय अधिकारीहरु समक्ष बुझाउन आग्रह गरिएको छ।

एउटा अतिनै कटु टिप्पणी सहितको प्रतिवेदन सार्वजनिक गर्दै बालबालिकाको अधिकारसम्बन्धी राष्ट्रसंघीय समितिले उक्त आग्रह गरेको हो।

गत महिना भ्याटिकनका अधिकारीहरुलाई गरिएको कडा केरकारपश्चात यो रिपोर्ट आएको छ।

पीडितहरुलाई क्षतिपूर्ति दिनपनि उसले अह्राएको छ।

प्रतिक्रिया

भ्याटिकनले भनेको छ, उसले राष्ट्र संघीय निकायको यो प्रतिवेदनको मिहिन परीक्षण गर्नेछ।

तर उसले प्रतिवेदनका लेखकहरुमाथि हस्तक्षेपको आरोप पनि लगाएको छ।

उक्त प्रतिवेदनले समलैंगिकता, परिवार नियोजनका साधनहरुको प्रयोग तथा गर्भपतन सम्बन्धी भ्याटिकनका विचारहरुको पनि आलोचना गरेको छ।

त्यसप्रति प्रतिक्रिया दिंदै एक भ्याटिकन अधिकारीले रोयटर्स समाचार संस्थालाई भनेका छन् समलैंगिकता, परिवार नियोजनका साधनहरुको प्रयोग तथा गर्भपतन जस्ता विषय उक्त समितिको क्षेत्राधिकार बाहिरका विषय हुन्।

भ्याटिकनले चर्चहरुमा हुनसक्ने बाल दुराचारका घटना रोक्न एक आयोग गठन गरेको छ।

राष्ट्रसंघीय समितिको यो प्रतिवेदनका सुझावहरु वाध्यकारी भने छैनन्।