बोस्नियामा असन्तोष

  • 8 फेब्रुअरी 2014
बोस्नियामा असन्तोष तस्वीर कपीराइट Reuters
Image caption बोस्नियाका विभिन्न शहरहरुमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएको छ

बोस्नियाका अधिकारीहरुले भनेका छन्, शुक्रबार देशभर भएका हिंसात्मक विरोध प्रदर्शनहरुका क्रममा करिब दुईसय जना घाइते भएका छन्।

विभिन्न शहरहरुमा रहेका सरकारी भवनहरुमा आक्रमण गरी आगो लगाइएको छ।

राजधानी सारायेभोमा हजारौं प्रदर्शनकारीहरुलाई हटाउन प्रहरीले रबरको गोली र पानीको फोहोराको प्रयोग गरेका थिए।

प्रदर्शनकारीहरुले स्थानीय सरकारी कार्यालयहरुमा आगजनी गर्नका साथै राष्ट्रपति भवनमा समेत जबर्जस्ती प्रवेश गर्ने प्रयास गरेका थिए।

बेरोजगारी

चर्को बेरोजगारी र चरम भ्रष्टाचारप्रति असन्तोष व्यक्त गर्दै शुरु भएको विरोध प्रदर्शन, दुई दशक अघि बोस्नीयाली युद्ध यताको सबैभन्दा खराब रहेको बताइंदै छ।

तीनदिन देखि चलेको विरोध प्रदर्शनका क्रममा सयौं मानिसहरु घाइते भएका छन्।

राजधानी सारायेभो र उत्तरी नगर टुज्लामा विरोध प्रदर्शनकारीहरुलाई हटाउन प्रहरीले रबरको गोली र अश्रू ग्यासको प्रयोग गरेको थियो।

सारायेभोस्थित राष्ट्रपति भवनबाट कालो धुंवाको मुस्लो उठेको देखिएको थियो।

त्यहांबाट प्रकाशित एउटा पत्रिकाका अनुसार उक्त भवनमा ढुंगा प्रहार गरिरहेकाहरुलाई हटाउन प्रहरीले पानीको फोहोरको प्रयोग गरेको थियो।

तस्वीर कपीराइट AFP
Image caption प्रदर्शनकारीहरुले स्थानीय सरकारी भवनहरुमा तोडफोड र आगजनी गरेका छन्

सो पत्रिकाका अनुसार राष्ट्रपति भवनसम्म पुग्न अग्नि नियन्त्रकहरु असफल भएका छन्।

घाइते

विहीबार टुज्ला नगरमा प्रहरी र प्रदर्शनकारीबीच भएको भिडन्तमा १३०जना घाइते भएका बताइको थियो, जस्मा धेरैजसो प्रहरीहरु नै थिए।

एकजना कारखाना मजदुरले एएफपी समाचार एजेन्सीसंग कुरा गर्दै, मानिसहरु भोका भएका र तिनीहरुसंग रोजगारी नभएको बताएका थिए।

बोस्नियामा झण्डै ४० प्रतिशत जनता बेरोजगार छन्।

यसैहप्ताको आरम्भतिर, टुज्ला नगरस्थित कारखानाहरु बन्दपछि शुरु भएको विरोध प्रदर्शनको लहर तिब्र गतिमा देशै भर फैलिएको छ।

धेरैजसो स्थानीयबासीहरुले रोजगारी पाउंदै आएका टुज्लाका केहि कारखानाहरु बन्द गरिनुका साथै विक्री गरिएका थिए।