कोइराला प्रधानमन्त्री हुने लगभग निश्चित

  • 9 फेब्रुअरी 2014
तस्वीर कपीराइट uml
Image caption राष्ट्रपतिबारे आफ्नो अडान छोडेको एमालेले मन्त्रालय बाँडफाँडमा किचलो गर्न सक्छ

नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुने लगभग पक्कापक्की भएको छ।

हप्तौं लामो रस्साकस्सी पछि नेकपा एमालेको आइतबार बसेको स्थायी समिति बैठकले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको हो।

संविधानसभाको दोस्रो ठूलो दल एमालेको समर्थन पाएपछि कोइरालाले प्रधानमन्त्री निर्वाचनका लागि संसद सचिवालयमा उम्मेद्वारी दर्ता गराएका छन्।

समर्थन

प्रधानमन्त्री उम्मेद्वारका लागि कोइरालाको प्रस्तावक उनकै पार्टीका उपसभापति रामचन्द्र पौडेल छन् भने एमालेको संसदीय दलका नेता केपी शर्मा ओली समर्थक रहेका छन्।

उम्मेद्वारी दर्ता गराएपछि कोइरालाले एमाले र आफ्नो पार्टीका नेताप्रति कृतज्ञता जनाए।

उनले भने, ‘’नेकपा एमालेको नेतृत्व र हाम्रो पार्टीको वार्ता टोलीले जुन सहयोग गरे, त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु।‘’

नयाँ जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा शक्ति बाँडफाँडबारे प्रधानमन्त्रीको निर्वाचनअघि नै प्याकेजमा सहमति हुनुपर्ने बताउँदै आएको एमालेले अडान छोडेपछि सरकारको नेतृत्व गर्न कांग्रेसलाई बाटो खुलेको हो।

निर्वाचन

एमालेले जोडदार रुपमा उठाउँदै आएको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा भएको सहमतिको बुँदा सुनाउँदै कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले भने, ‘’नयाँ संविधान जारी भएपछि संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभाको अध्यक्ष र उपाध्यक्ष तथा प्रधानमन्त्रीको निर्वाचन गरिने छ।‘’

कांग्रेस र एमालेबीच भएका अन्य सहमति अनुसार, एक वर्षभित्र संविधान जारी गर्ने, अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व लिने र सरकार निर्माणबारे कांग्रेसले एक साताभित्र नीति तथा कार्यक्रमको खाका तयार पार्नेछ।

संसदमा सोमवार हुने निर्वाचनलाई आइतवारको सहमतिले बाटो सहज बनाए पनि सत्ता बाँडफाँडको विषयमा सहमति जुटाउन बाँकी छ।

प्रधानमन्त्रीको चयन निश्चित भएपछि गैरराजनीतिक नेतृत्वको वर्तमान सरकार विस्थापित हुने सुनिश्चित भएको छ।