जेनेभामा दोस्रो चरणको वार्ता शुरु

  • 10 फेब्रुअरी 2014
होम्सको दृश्य तस्वीर कपीराइट Reuters
Image caption होम्समा युद्धविरामको अवधिमा पनि गोलाबारी जारी रहेको जनाइएको छ

सिरिया सरकार र विपक्ष बीच जेनेभामा दोस्रो चरणको शान्ति वार्ता शुरु भएको छ।

संयुक्त राष्ट्र संघका मध्यस्थकर्ता लखदर ब्राहिमीले पहिले विपक्षी प्रतिनिधिमण्डललाई भेटने र त्यसपछि सरकारी प्रतिनिधिहरुलाई भेटने छन्।

लडाईं कसरी रोक्ने भन्ने विषयमा कुनै खास प्रगति हुन नसकेपछि एक साता भन्दा केही अघि पहिलो चरणको वार्ता भङ्ग भएको थियो।

त्यसयता अत्यावश्यक सामग्री बोकेका मोटरहरुले सहायता ओसारेका छन् र घेराबन्दीमा परेको होम्स शहरबाट सैयौं गैरसैनिकहरुलाई बाहिर लगिएको छ।

प्रस्ताव

फ्रान्सले भनेको छ, उसले घेरावन्दीमा परेका अन्य शहरहरुमा पनि मानवीय सहायता सामग्री लैजान बाटो खोलियोस् भन्ने एउटा प्रस्ताव राष्ट्र संघ सुरक्षा परिषदमा प्रस्तुत गर्नेछ।

सिरियामा कार्यकर्ता सहायता कार्यकर्ताहरुले होम्समा घेराबन्दीमा परेका इलाकाबाट थप मानिसहरुलाई बाहिर लैजान सकिने आशा व्यक्त गरेका छन्।

सरकार तथा विद्रोही पक्ष दुबैले भनेका छन्, गत आइतबार यता ६ सय जनाभन्दा बढी सर्वसाधारणलाई त्यहाँबाट बाहिर पठाइएको छ र युद्धविराम थप तीन दिन बढाइएको छ।

तर आईतबार राती शहरमा थप गोलाबारी हरु गरिएको थियो र बन्दूक चलेका आवाजहरु सुनिएका थिए।

सिरिया सरकारले त्यसरी बाहिर लगिएका सर्वसाधारणमध्ये केहीलाई शहर बाहिर फेरि पक्राउ गरिएको स्वीकारेको छ।

रिहा

बीबीसीसंग कुरा गर्दै सूचना मन्त्रालयका एकजना प्रवक्ताले भने, उग्रवादी भनिएका एकसय तीनजना मानिसहरुलाई सुरक्षा जाँचकालागि पक्राउ गरिएको थियो, तर पछि उनीहरुलाई रिहा गरिएको छ।

वसर अल असद सरकारका एकजना सल्लाहकार डा बसम अबु अब्दुल्लाहले भने, "सिरियाको भविष्य, भूअखण्डता, सार्वभौमिकता र आतँकवाद विरुद्धको लडाईंमा हामी तलमाथि गर्नसक्दैनौं।"

सन् २०११ यता सिरियाको द्वन्द्वमा एकलाख भन्दा बढी मानिसको ज्यान गैसकेको छ।

हिंसाकै कारण झण्डै पन्चान्नब्बे लाख मानिसहरु विस्थापित भएका छन्, जसले गर्दा सिरियाभित्र र छिमेकीहरुकालागि पनि ठूलो मानवीय संकट खडा भएको छ।

युद्धविराम

होम्स शहरमा युद्धविराम पछि पहिलो तीन दिनको उद्धार प्रयास आइतबार टुँगिएको छ।

युद्ध विरामको समयमा भएको मोर्टार र गोली प्रहारकालागि दुबै पक्षले एक अर्कामाथि दोष लगाएका छन्।

केही मानिसहरु मारिएको अभियानकर्ताहरुले जनाएका छन्।

यसैबीच सिरियाली विपक्षीहरुले भनेका छन्, इस्लामवादी विद्रोहीहरुले मध्य सिरियाको एउटा गाउँमा धावा बोलेर राष्ट्रपति बसर अल असदको अल्पसंख्यक अलावाइट समूहका कम्तीमा ४१ जना सदस्यहरुलाई मारीदिएका छन्।

जेनेभामा रहेको सिरिया सरकारको प्रतिनिधिमण्डलले, उसकै शब्दमा, उक्त आतँककारी हमलाको निन्दा गर्न अन्तर्राष्ट्रिय मध्यस्थकर्ता लखदर ब्राहिमीलाई आग्रह गरेको छ।