चीन - ताइवान उच्चस्तरीय वार्ता

  • 11 फेब्रुअरी 2014
चीन ताइवान वार्ता
Image caption दुवै पक्षले सरकारी विभागहरु बीच नियमित सम्पर्क स्थापना गर्न सहमति जनाएका छन्

सन् १९४९ मा चिनियाँ गृह युद्धको अन्त्य भए यता चीन र ताइवान बीच पहिलो उच्चस्तरीय वार्ता भएको छ।

नानजिङमा भएको चार दिने वार्तामा ताइवानी सरकारी मन्त्री वाङग यु ची र उनका चिनियाँ समकक्षी झाङग झिजुन बीच भेटघाट भएको हो।

यो वार्ताको कुनै आधिकारीक एजेन्डा नभए पनि यसलाई बिश्वास निर्माण गर्ने अभ्यासको रुपमा ब्यापक रुपमा हेरिएको छ।

चीनका सरकारी प्रतिनिधि झाङगले भने,दुवै पक्ष बीच सम्बन्ध सुधार गर्न सोचमा परिवर्तन आउनु पर्दछ।

उनले भने,हामी यसरी बसेर कुरा गरौंला भनेर बिगतमा सोच्नै सकिंदैनथ्यो।

ताइवानका सरकारी प्रतिनिधि वाङगले यो बैठकलाई नयाँ अध्यायको संज्ञा दिए।

दुवै पक्षले सम्बन्ध सुदृढ तुल्याउन र सरकारी विभागहरु बीच नियमित सम्पर्क स्थापना गर्न सहमति जनाएका छन्।

सम्बन्ध सुधार

वार्ताको संवेदनशिलतालाई ध्यानमा राख्दै कुनै झण्डा नराखिएको एएफपी समाचार एजेन्सीले बताएको छ।

चीन ताइवानलाई आफ्नै भूभाग ठान्दछ र त्यसमाथि पुन नियन्त्रण गर्ने उद्देश्य राख्दछ।

ताइवान आफूलाई अझ पनि गणतन्त्र चीन भनि दाबी गर्दछ।

अमेरिकाले ताइवानलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता नदिए पनि ताइपेइको रक्षा गर्न उ प्रतिबद्ध छ।

यो अवस्थाले वाशिङटन र बेइजिङ बीच दसकौंदेखि तनाव सृजना गरी राखेको छ।

तर ताइवानमा बेइजिङ समर्थक राष्ट्रपति मा यिङग जिउ सन् २००८ मा निर्वाचित भए पछि सम्बन्धमा सुधार हुन थालेको छ।

दुवै पक्ष बीच सन् २००८ मा उडानहरु शुरु भयो र मुख्यभूमीका पर्यटकहरुले ताइवानको अर्थतन्त्रमा निक्कै सहयोग पु-याइ राखेका छन्।