मन्त्रालय भागबण्डामा कांग्रेस-एमाले विवाद

  • 11 फेब्रुअरी 2014
सुशील कोइराला र झलनाथ खनाल
Image caption मन्त्रालय भागबण्डाका विषयमा सत्ता साझेदार हुने ठानिएका नेपाली कांग्रेस र नेकपा एमालेबीचको विवाद लम्बिने स‌ंकेत देखिएको छ

कांग्रेसले गृह मन्त्रालय एमालेलाई दिने सहमति जनाएको बताइएपनि त्यसबारे टुंगो नलागिसकेको कांग्रेसका एक नेताले बताएका छन्।

रामशरण महतले गृह र अन्य मन्त्रालयको बाँडफाँडबारे एमालेसँग कुनै सम्झौता नभएको बताएका छन्।

संसदको चुनावमा नेपाली कांग्रेसका सभापति सुशिल कोइराला निर्वाचित भए पनि दुई ठूला दलबीच मन्त्रालयको बाँडफाँडमा भने कुरा मिलिसकेको छैन।

‘प्रतिवध्दता’

दुई दिनअघि नेकपा एमालेले कांग्रेस नेतृत्वको सरकारलाई आफूहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको बताइएको थियो, तर प्रधानमन्त्रीको निर्वाचनपछि कांग्रेस आफ्नो प्रतिवद्धताबाट पछि हटेको एमालेको आरोप छ।

सत्ता बाँडफाँडको विषयमा वार्ता टोलिमा रहेका एमाले सचिव विष्णु पौडेलले भने, “गृह लगायतका मन्त्रालयहरु नेकपा एमालेले सम्हाल्ने सहमतिका आधारमा मन्त्रालय बाँडफाँड हुनुपर्छ।”

“यदि नेपाली कांग्रेस त्यो सहमतिबाट पछाडी हटेको हो भने नेकपा एमाले सरकारमा सामेल हुदैन।”

नेपाली कांग्रेसको तर्फबाट वार्ता टोलिमा रहेका नेता रामशरण महतले भने गृहमन्त्रालयमा नेकपा एमालेले आकांक्षा देखाए पनि त्यसबारे कुनै सहमति नभएको बताए।

विवाद

“उहाँहरुको अपेक्षा आफ्नो ठाउँमा होला तर हाम्रो तर्फबाट कुनै पनि मन्त्रालयका विषयमा निर्णय भएको छैन।”

“यो मन्त्रालयमा हाम्रो पनि दाबी छ भन्ने कुरा हामीले गरेका छौ, त्यसैले यो सुल्झिसकेको र निर्णय भइसकेको विषय होइन।”

नवनिर्वाचित प्रधानमन्त्री सुशिल कोइरालालाई मंगलबार दिउँसो साँढे २ बजे शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

अन्तत: चुनाव भएको तीन महिनामा नयाँ प्रधानमन्त्री चयन भए पनि सरकार गठनको शुरुमै दुई ठूला दलबीच सत्ता बाँडफाँडको विषयमा कुरा नमिल्दा उनीहरुले भने जस्तै एक वर्षमै संविधान बन्नेमा धेरैले आशंका व्यक्त गरेका छन्।