गृह मन्त्रालय नपाए सरकारमा जान्नौ-एमाले

  • 11 फेब्रुअरी 2014
नेपाली कांग्रेस र नेकपा एमालेबीचको किचलोको असर संविधान निर्माणमा पर्न सक्छ

नेपाली कांग्रेससँग रुष्ट बनेको नेकपा एमालेले गृह मन्त्रालय नपाएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ।

नवनिर्वाचित प्रधानमन्त्री सुशिल कोइरालाले पद तथा गोपनीयताको सपथ लिनु केही बेरअघि नेकपा एमालेले गृह लगायतका मन्त्रालय दिने वचन र भद्र सहमतिबाट नेपाली कांग्रेस पछि हटेको भन्दै त्यसमा पुनर्विचार नभए सरकारमा नजाने निर्णय गरेको थियो।

तर आफूलाई प्रधानमन्त्री बनाउने मूल भूमिका निर्वाह गरेको एमालेको उक्त निर्णय आउँदै गर्दा कोइरालाले राष्ट्रपति रामवरण यादवबाट सपथ लिए।

सपथ

कोइरालाले आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट नेता रामशरण महतलाई विनाविभागीय मन्त्रीको रुपमा सपथ गराएका छन्।

उनले मंगलबार नै पदभार ग्रहण गरेका छन्।

सपथ कार्यक्रममा एमालेको तर्फबाट पूर्वप्रधानमन्त्रीको हैसियतमा वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष झलनाथ खनाल मात्र उपस्थित थिए।

एमालेको स्थायी समिति बैठकले गृह मन्त्रालय दिने पूर्वसहमतिबाट कांग्रेस पछि हटेको आरोप लगाएको छ।

स्थायी समितिको बैठक लगत्तै उसले संसदीय दलको बैठक बोलाई सभासद्हरुलाई निर्णयबारे जानकारी गराएको थियो।

सहमति

बैठकले गरेको निर्णयबारे एमालेका सचिव विष्णु पौडेलले भने, ‘’दुई दलबीच भएको पूर्वसहमतिमा कांग्रेस नफर्कुञ्जेल सुशिल कोइराला नेतृत्वको सरकारमा एमाले सहभागी हुँदैन।‘’

प्रधानमन्त्री चयन भएको २४ घण्टा नबित्दै सत्ता साझेदार कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँडबारे किचलो शुरु भएको देखिएको छ।

सरकारले ठोस आकार नलिदै दुई ठूला दलबीच देखिएको सिङ्गौरीसँगै एक वर्षभित्र संविधान जारी गर्ने र ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने उनीहरुको प्रतिबद्धतामाथि ग्रहण लागेको ठानिएको छ।