दुई दलबीच गृहमन्त्रालयबारे विवाद कायमै

  • 12 फेब्रुअरी 2014
तस्वीर कपीराइट bbc
Image caption एमाले स्थायी कमिटीले मंगलबार गृहमन्त्रालय नदिए आफूहरु सरकारमै नजाने निर्णय गरेको थियो

गृहमन्त्रालय कसले पाउने भन्ने विषयमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद कायमै छ।

प्रधानमन्त्री सुशील कोइरालाले नेकपा एमालेले दाबी गरेजस्तो गृह मन्त्रालय उसलाई दिने सहमति काँग्रेसले नगरेको बताएका छन्।

गृह मन्त्रालय नपाई सरकारमा सहभागी नहुने एमालेका नेताहरुको टिप्पणी माझ प्रधानमन्त्रीले त्यस्तो सहमतिनै नभएको बताएका हुन्।

सिहदरबारको कुर्सीमा बसेको दुई दिन बितिसक्दा पनि गृह मन्त्रालयको विवादका कारण प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

संविधानसभा बैठकमा सहभागी भई निस्कने क्रममा बुधबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कोइरालाले एमालेलाई गृह मन्त्रालय दिने सहमति नभएको बताए।

कांग्रेस नेता तथा बिना विभागीय मन्त्री रामशरण महतले पनि गृह मन्त्रालयमा दुवै दलको दाबी रहेको र त्यसको टुङ्गो लगाउन एमालेसँग छलफल जारी रहेको बताएका छन्।

उनले भने, “कांग्रेस र एमाले दुवैबीच गृहमन्त्रालयमा दाबी छ, अब टुंग्याउने प्रयासमा छौं।”

गृह मन्त्रालय दिने सहमति भएको भन्ने दाबीहरु कांग्रेसले खण्डन गरिरहेको बेला एमालेकै शीर्ष नेताहरुले त्यसबारे भिन्नाभिन्नै अभिव्यक्ति दिएका छन्।

संसदीय दलको नेता चयनका बेला, हाल गृह मन्त्रालयको दावी गरिरहेका पार्टी उपाध्यक्ष वामदेव गौतमले साथ छाडेको, अध्यक्ष खनाल पक्षधर वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार पत्रकारहरुसमक्ष सहमति भए वा नभएकोबारे यसरी द्विविधा प्रकट गरे।

नेता नेपालले भने, “कांग्रेसका नेताहरुले होइन भन्नुहुन्छ, हाम्रा साथीहरु हो भन्नुहुन्छ त्यसबारे बसेर विश्लेषण त गर्नुपर्यो नि।”

पत्रकारहरुसँग कुरा गर्दा एमाले अध्यक्ष झलनाथ खनालले पनि गृह मन्त्रालयबारे कुनै सहमति भए, नभएको प्रष्ट उल्लेख गरेनन्।

कांग्रेसले एमालेसँग गरेको सबै सहमति पालना गर्नुपर्ने सीधा टिप्पणी उनको थियो।

खनालले भने, “नेकपा एमाले र कांग्रेसबीच लिखित र अलिखित सहमति भएका थिए ती चिजहरुको मान्यता हुनुपर्छ।”

साना दलहरुसँग बुधबार छलफल गरेको एमालेलाई उनीहरुले कांग्रेससँग जसरी पनि मिलेर जान सुझाव दिएका छन्।

कांग्रेसका केही नेताहरुले चाहिँ एमालेलाई गृह मन्त्रालय दिन सकिने भएपनि विगतमा विवादास्पद छवि बनाएका एमाले नेता वामदेव गौतमलाई स्वीकार्न नसकिने बताउन थालेका छन्।

तर दुई दलबीच यस विषयमा तत्काल कुनै सहमति भइहाले पनि ती पार्टीभित्र मन्त्री पदका निम्ति आन्तरिक बाँडफाँड नमिलेसम्म सरकारले पूर्णता पाउन भने कठिन देखिन्छ।