होम्स शहरमा ट्रकहरु पुगे

  • 12 फेब्रुअरी 2014
होम्स शहर तस्वीर कपीराइट AFP
Image caption होम्स शहर गएको अठार महिनादेखि सरकारी सैन्यको घेरावन्दीमा छ

सिरियामा घेराबन्दीमा परेको होम्स शहरमा खानेकुरा बोकेका दुईवटा ट्रकहरु पुगेका छन्।

एउटा अस्थायी युद्ध विराम बुधबार सकिने अपेक्षा गरिएको छ।

तर होम्सका गभर्नरले जोखिममा परेका मानिसहरुलाई बाहिर निकाल्नकालागि युद्धविरामलाई जतिसक्दो लम्बाउन आफुले प्रयास गर्ने जनाएका छन्।

सिरियामा घेराबन्दीमा परेको होम्समा रहेकी बीबीसीकी एकजना संवाददाताले खानेकुरा बोकेका दुईवटा ट्रकहरु उक्त प्राचीन शहरमा पुगेको बताइन्।

लिस डुसेटले गैरसैनिकहरुलाई सुरक्षित स्थान तर्फ लग्न नजीकै बसहरु पर्खीरहेको पनि जनाइन्।

प्रयास

होम्सका गभर्नर तलाल बराजीले जोखिममा परेका मानिसहरुलाई बाहिर निकाल्नकालागि युद्धविरामलाई जतिसक्दो लम्बाउन आफुले प्रयास गर्ने बताएका छन्।

अहिलेसम्म बाह्रसय मानिसहरुलाई सो शहरबाट बाहिर निकालिएको छ।

हाम्री संवाददाता भन्छिन्, केही सरकार समर्थक मानिसहरुले त्यहाँबाट सशस्त्र विद्रोहीहरुलाई बाहिर जान दिईएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

विपक्षी समूहहरुले पनि होम्स छाडिरहेका युवाहरुलाई अधिकारीहरुले बन्दी बनाएर सोधपुछ गरिरहेको बताएका छन्।

हाल जेनेभामा रहेका एकजना विपक्षी वार्ताकार मन्जेर अकविकले भने, “अहिलेसम्म सरकारले तीनसय मानिसहरुलाई आफुहरुसंग लिएर गएको छ। संयुक्त राष्ट्र संघ र असद सरकारबीच भएको सहमति अनुसार उनीहरुलाई होम्स शहर छाडन अनुमति दिइएको हो तर असद सरकारले उनीहरुको अपहरण गरेको छ।”

सरकारी सैन्यहरुले गएको अठार महिना देखि सो शहरमा घेरावन्दी गरिरहेका छन्। गत शुक्रबार अस्थायी युद्धविराम घोषणा गरिएयता सैयौं सर्वसाधारणलाई त्यहाँबाट बाहिर लगिएको छ।

तर त्यहाँ अझै एक हजार जना भन्दा बढी मानिसहरु घेरावन्दीमा परिरहेका ठानिएको छ।

गएको सप्ताहान्तमा उक्त शहरमा मानवीय सहायता सामग्री लगेर गैरहेका रेड क्रिसेन्टका ट्रकहरुमाथि हमला गरिएको थियो। त्यसैले अहिले निकै सावधानी अपनाइएको छ।

हमला

यसैबीच सिरियाका विपक्षी कार्यकर्ताहरुले सरकारका युद्धक विमानहरुले लेबनानी सीमा नजीकै रहेको याब्रुद नगरमा बम हमला गरिरहेको जनाएका छन्।

इन्टरनेटमा प्रकाशित भिडियोहरुमा उक्त नगरमा विष्फोटनको दृश्यकासाथै आकाशमा बाक्लो कालो धुवाँ देखिन्छ।

लेबनानतर्फको सीमावर्ती नगर अरसलका अधिकारीहरुले बीबीसीलाई भने, सरकारी हमलाको आशँका गर्दै सिरियाली शरणार्थीहरु ठूलो संख्यामा सीमा पार गरी लेबनान प्रवेश गरिरहेका छन्।

याब्रुद, कालोमुन पर्वतीय क्षेत्रमा विद्रोहीहरुको नियन्त्रणमा रहृको अन्तिम नगर हो।

सिरियाली सेनाले लेबनानसंगा जोडिएको सीमामा आफ्नो नियन्त्रण कायम गर्ने उद्देश्यले उक्त हमला शुरु गरेको ठानिएको छ।