केजरीवालद्वारा मुख्यमन्त्री पदबाट राजीनामा

  • 14 फेब्रुअरी 2014
शपथ लिंदै केजरीवाल तस्वीर कपीराइट Reuters
Image caption केजरीवालले भ्रष्टाचार विरोधी अभियान अरु चर्काउने अपेक्षा गरिएको छ

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएका छन्।

राज्य विधानसभामा भ्रष्टाचार विरोधी नयाँ विधेयक ल्याउने उनको प्रयासलाई अवरुद्ध गरिएपछि उनले ४९ दिनमै आफ्नो पदबाट राजीनामा दिएका हुन्।

आम आदमी पार्टीको नेताको रुपमा गत डिसेम्बर महिनामा उनले दिल्लीको मुख्यमन्त्री पदको शपथ लिएका थिए।

उनको अल्पमतको सरकारलाई काँग्रेस पार्टीले सरकार बाहिरै बसेर समर्थन दिएको थियो।

राजीनामा

केजरीवालले जनलोकपाल विधेयक विधानसभामा ल्याउन नदिएकोमा विरोध गर्दै आफुले राजीनामा दिएको जनाएका छन्।

अन्य दलहरुले भारतको केन्द्रिय सरकारको अनुमति विना राज्य सरकारले उक्त विधेयक ल्याउन नपाउने भन्दै त्यस्तो कदम असंवैधानिक भएको बताएका थिए।

तर केजरीवालले आफुले संविधानको सँधै सम्मान गरेको र संविधानको मर्मको आधारमै उक्त विधेयक ल्याइएको बताए।

उनले भने, "म एक सामान्य व्यक्ति हुँ। मेरो कुनै औकात छैन। म कुर्सी वा शक्तिकालागि यहाँ आएको हैन। त्यसैले हाम्रो सरकारले राजीनामा दिएको हो।"

एकजना गान्धीवादी नेता अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियानका प्रमुख समन्वयकर्ता मानिने केजरीवालले मुख्यमन्त्री भएपछि दिल्लीमा न्यून आय भएका परिवारलाई निशुल्क पिउने पानी उपलब्ध गराउने घोषणा गर्नुकासाथै विद्युत कम्पनीहरुको लेखा परीक्षण गर्न आदेश दिएका थिए।

धर्ना

केन्द्र सरकारको मातहतमा रहेको दिल्ली प्रहरीलाई राज्य सरकार अन्तर्गत ल्याईयोस् भन्दै उनले सडकमै धर्ना पनि दिएका थिए।

कतिपयले उनको शासन शैली अराजक भएको टिप्पणी पनि गरेका थिए।

भारतमा आउँदो तीन महिना भित्रै आम चुनाव हुन गैरहेको छ।

उनको दलले भ्रठ्टाचार निवारणको मुख्य मुद्दा उठाउँदै देशका विभिन्न भागबाट आफ्ना उम्मेदवार उठाउने तयारी गरिरहेको छ।

दिल्लीस्थित बीबीसीका संवाददाता जुबैर अहमद भन्छन्, “केजरीवालसंग गुमाउने केही छैन, तर उनले अझै निकै पाउन सक्छन्।“