डा. केसीले अनशन तोडे

  • 15 फेब्रुअरी 2014
तस्वीर कपीराइट BBC Jitendra Raut
Image caption शिक्षण अस्पताललाई स्वायत्तता दिने सरकारी प्रतिबद्धता पुरा हुन कठिन देखिन्छ

शिक्षण अस्पताललाई स्वायत्तता दिने तथा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाउने सरकारको प्रतिबद्धतापछि प्राध्यापक डा. गोविन्द केसीले अनशन तोडेका छन्।

सरकारका मुख्य सचिव लीलामणि पौडेल र चिकित्सकहरुको उपस्थितिमा चिकित्सा शास्त्रका विद्यार्थीहरुको हातबाट जुस खाएर डा. केसीले शनिबार दिउँसो अनशन तोडेका हुन्।

उनी अघिल्लो शनिबारदेखि अनशन बसेका थिए।

आन्दोलनरत चिकित्सकहरु र सरकारबीच भएको सहमतिअनुसार चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्ता दिने सम्बन्धमा टुङ्गो लगाउन त्रिविसभा बोलाईने छ।

डा. गोविन्द केसीले उक्त मागलाई सशक्त रुपमा उठाउँदै आएका थिए।

स्वायत्तता

त्यससम्बन्धी भएको सहमतिबारे केसीनिकट डा. राजेन्द्र वाग्लेले भने, ‘’२१ दिनभित्र त्रिवि सभा बोलाईने र त्यसमा डिनले स्वायत्तताबारे प्रस्ताव प्रस्तुत गर्नेछन्।‘’

त्यस्तै चार वटा मेडिकल कलेजहरुको सम्बन्धनबारे छानबीन गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने, चिकित्सकहरु नियुक्त गर्दा राजनीतिक भागबण्डा नगर्ने र त्रिवि पदाधिकारीमाथि कारवाही प्रक्रिया अघि बढाउने सहमति भएको छ।

यसअघि वरिष्ठताका आधारमा डा. राकेश श्रीवास्तव चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्त भईसकेका छन्।

सरकारसँग भएको सहमतिसँगै आइतबारदेखि शिक्षण अस्पतालका सबै सेवाहरु फेरि शुरु हुने डा. वाग्लेले बताए।

चिकित्साशास्त्र अध्ययन संस्थानलाई राजनीतिक तथा प्रशासनिक हस्तक्षेप बन्द गर्नुपर्ने तथा पूर्वाधारको विकास गरेपछि मात्र मेडिकल कलेजहरुलाई सम्बन्धन दिनुपर्ने लगायतका माग पुरा गर्ने प्रतिबद्धता सरकारले पुरा नगरेपछि डा. केसीले गत शनिबारदेखि चौथो पटक अनशन शुरु गरेका थिए।