इजिप्टका अपदस्थ राष्ट्रपतिमाथि अर्को मुद्दा

  • 16 फेब्रुअरी 2014
इजिप्ट तस्वीर कपीराइट AFP
Image caption सुरक्षाकर्मीहरुसितका भीडन्तमा एक हजार भन्दा बढी मानिस मारिएका छन्

इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीमाथि एउटा नयाँ मुद्दा शुरु भएको छ।

यस पटक उनीमाथि देशका गोप्य सूचनाहरु प्राप्त गर्न जासूसहरुको प्रयोग गरेको र आतंकवादी कार्यहरु गर्न षडयन्त्र रचेको आरोप लगाइएको छ।

मोर्सी र अन्य ३५ जना माथि इजिप्टमा हमलाहरु गर्न लेबनानी र प्यालेष्टीनी समूहहरुसंग मिलेर काम गरेको आरोप लगाइएको छ।

मोर्सीका समर्थकहरुले उनी र ब्रदरहूडका अन्य बरिष्ठ सदस्यहरु लाई राजनैतिक रुपमा अभिप्रेरीत भएर मुद्दा चलाइएको बताउँदै आएका छन्।

उनीमाथि यस अघिनैं अन्य तीन वटा अभियोग लगाइ सकिएको छ।

उनको शाशन बिरुद्ध बृहत रुपमा सडक प्रदर्शनहरु भए पछि गत जुलाई महिनामा मोर्सीलाई सेनाले अपदस्थ गरेको थियो।

धरपकड

त्यस यता उनको मुस्लीम ब्रदरहूड समूहमाथि ठूलो स्तरमा धरपकड भएको छ।

ब्रदरहूड एउटा आतंककारी संगठन भएको घोषणा गरिएको छ।

उक्त संगठनप्रतिको कुनै पनि सार्वजनिक समर्थनलाई अधिकारीहरुले दण्डीत गरेका छन्।

ब्रदरहूडका अन्य बरिष्ठ अधिकारीहरु माथि पनि अनेक अभियोगहरु लगाइएको छ।

मोर्सीलाई अपदस्थ गरिए यता सुरक्षाकर्मीहरुसितका भीडन्तमा एक हजार भन्दा बढी मानिस मारिएका छन्।

यस पटक मोर्सीमाथि प्यालेष्टीनी आन्दोलन हमास,लेबनानको हेजबुल्लाह र इरानको क्रान्तीकारी गार्डसित साँठगाँठ गरेको आरोप छ।

दोषी ठहरिएमा उनलाई मृत्यु दण्डको सजाँय हुन सक्छ।