जुम्ला तर्फ उडेको विमान सम्पर्कबिहिन

  • 16 फेब्रुअरी 2014
Image caption नेपाल वायु सेवा निगमको काठमाडौ‌बाट पोखरा हुँदै जुम्लातर्फ उडेको ट्वीन अटर विमान हराइरहेको छ

नेपाल वायु सेवा निगमको काठमाडौ‌बाट पोखरा हुँदै जुम्लाका लागि उडेको ट्वीनअटर विमान आइतबार दिउसोदेखि सम्पर्क विहिन भएको छ।

जहाजमा पन्ध्रजना यात्रु र तीनजना चालकदल रहेको नेपाल प्रहरीका प्रवक्ता गणेश के सीले जनाएका छन्।

प्रवक्ता के सीका अनुसार काठमाडौबाट पोखरा गइ पोखराबाट जुम्लाका लागि उडेको करिब पन्ध्र मिनेटमा जहाज सम्पर्कविहिन भएको थियो।

जहाजको पछिल्लो सम्पर्क भैरहवा टावरसँग भएको थियो।

खोजी तीब्र

जहाज कहाँ कस्तो अवस्थामा छ भन्ने जानकारी प्राप्त भइनसकेको अधिकारीहरुले बताएका छन्।

भैरहवा टावर र काठमाडौ टावरबाट गरिएको गणनाबाट अर्घाखाँची आसपाससम्म जहाज पुगेको अनुमानमा अर्घाखाँची वरपर खोजी तीब्र बनाइएको बताइएको छ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले आफुकहाँ अहिलेसम्म कुनै स्थानीय वा अन्य निकायबाट जहाजका बारे कुनै जानकारी आइनपुगेको उनले बताएका छन्।

स्थानीय प्रहरी टोली खोजीका लागि हिँडेको पनि प्रजिअ पाठकले बताएका छन्।

जहाजमा पाइलट शंकर श्रेष्ठ सहायक पाइलट रवीन्द्र बन्जारा र एअर होस्टेस मुना महर्जन रहेको बताइएको छ।

पन्ध्रजना यात्रुमा एकजना बालक र एकजना विदेशी नागरिक भएको बताइएको छ।