नेम्वाङ्ग संविधानसभा अध्यक्षमा निर्विरोध निर्वाचित

  • 18 फेब्रुअरी 2014
संविधानसभा
Image caption दोस्रो पटक निर्वाचित भएको तीन महिना वितेपछि संविधानसभाले अध्यक्ष छानेको छ

संसदमा दोस्रो ठूलो दल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ्ग संविधानसभाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

पहिलो ठूलो दल नेपाली काँग्रेसले समर्थन तथा तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले उम्मेदवारी नदिएपछि, नेम्वाङ्गले दोस्रो पटक संविधानसभाको अध्यक्ष तथा व्यवस्थापिका संसदको सभामुखको पद सम्हालेका छन्।

नौ दिन अगाडि प्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन हुँदा तीन ठूला दल मध्ये एकीकृत माओवादीले विपक्षमा मत हालेको थियो।

चेतावनी

नेकपा एमालेका तर्फबाट इलामको क्षेत्र नम्बर दुईबाट संविधानसभा सदस्य निर्वाचित नेम्वाङ्गले सबै दलका समर्थन पाएका छन् जुन गत साता प्रधानमन्त्री सुशील कोइरालाले उनको चयन हुँदा पाएका थिएनन्।

कोइरालाको निर्वाचनका बेला एकीकृत माओवादीले विपक्षमा मत हालेको थियो।

संविधानसभा अध्यक्ष पदमा आफ्नो दाबी पेश गरिरहेको एकीकृत माओवादीले अचानक मंगलबार दिउँसो उम्मेदवारी नदिने निर्णय गरेको थियो।

तर यो निर्णयमा ऊ खुशी खुशी पुगेको भने थिएन।

जुन कुरा अध्यक्ष प्रचण्डले रोष्ट्रमबाटै प्रष्ट पारे।

“संविधानसभाको अध्यक्ष सबैको साझा हुनैपर्छ। शुरुमै त्यसमा विवाद भयो भने त्यसले हाम्रो ऐतिहासिक उद्देश्यमा वाधा पर्छ भन्ने ठानेर हामीले हाम्रातर्फबाट उम्मेदवार नदिने समझदारी गरेका हौं। यसलाई हाम्रो कमजोरी नठानियोस्,” उनले भने।

प्रचण्डले चेतावनीकै शैलीमा नेम्वाङ्गको निर्वाचनप्रति आफ्नो घुमाउरो असन्तुष्टि जाहेर गरेलगत्तै बोलेका चौथो ठूलो दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले चाहीं आफ्नो असन्तुष्टि पोख्न ट्वीट्टरमा कसैले गरेको व्यँग्यात्मक टिप्पणीको सहारा लिए।

“नेम्वाङ्ग यस्ता शिक्षक हुन् जस्को कक्षामा विद्यार्थीहरु सुत्न, हल्ला गर्न, लाष्ट बेन्चमा बसेर दोहोरी गाउन, अनि केटीलाई चकले हान्न पाउँछन्। अब यो टिप्पणी व्यंग्य हो वा कसैले उनको विगतको संस्मरण गर्न खोजेको हो, त्यो मलाई थाहा छैन,” थापाले भने।

विगत

नेम्वाङ्गलाई संविधानसभा अध्यक्ष निर्वाचित गर्न एमालेका संसदीय दलका नेता केपी ओलीले प्रस्ताव गरेका थिए भने नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले त्यसको समर्थन गरेका थिए।

२०२८/२९ सालमा इलाम बहुमुखी क्याम्पसमा स्ववियू सभापति भएयता नेम्वाङ्ग निरन्तर राजनीतिमा संलग्न छन्।

विभिन्न समयमा गरी उनी कानुनका शिक्षक देखि लिएर कानुन मन्त्री सम्म भए।

२०६२/६३ को आन्दोलनपछि पुनर्स्थापित संसदको सभामुख चुनिएका नेम्वाङ्गलाई २०६५ सालमा निर्वाचित पहिलो संविधानसभाले पनि अध्यक्ष चुनेको थियो।

तर पटक पटक म्याद थपे पनि चार वर्षपछि सो सभा संविधान नलेखिकनै भंग हुन पुग्यो।