संविधानसभाको अध्यक्ष चुनिदैं

  • 18 फेब्रुअरी 2014
Image caption अध्यक्षमा निर्वाचित हुन तत्काल कायम सदस्य संख्याको बहुमत सदस्यको समर्थन चाहिन्छ

तोकिएको समयभित्र दलहरु सहमतिमा पुग्न नसकेपछि मंगलवार संविधानसभाले निर्वाचन मार्फत आफ्नो अध्यक्ष चयन गर्दैछ।

सोमबार दलहरुले गरेको सहमतिको प्रयास असफल भएपछी संविधानसभाको बैठकबाट नै अध्यक्षको चयन गर्न लागिएको हो।

नेपाली कांग्रेस र उसको नेतृत्वको सरकारलाई समर्थन गरेका दलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सघाउने प्रतिबद्धता जनाइसकेका छन्।

तयारी

अहिलेसम्म पूर्व नेकपा एमालेले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने घोषणा गरेको छ तर अन्य कुनै पनि दलले उम्मेदवार तोकेका छैनन्।

संविधानसभा सचिवालयले सभाध्यक्षको उम्मेदवारीको लागि बिहान मनोनयन गर्ने र साँझ ५ बजे बस्ने संविधानसभा बैठकमा निर्वाचन गर्ने कार्यतालीका सार्वजनिक गरेको छ।

संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले एक मात्र उम्मेदवार चुनावी प्रकृयामा सहभागि भए उनलाई निर्विरोध अध्यक्षको पदमा निर्वाचित गरीएको घोषणा गरिने बताए।

एकीकृत माओवादीले अध्यक्षको पदमा दाबी गरेपनि उम्मेदवारी दिने नदिनेबारे मंगलवार विहान मात्र निर्णय गर्ने बताएको छ।

“हाम्रो मोर्चामा रहेका १८ दलसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ, अहिले नै उम्मेदवारी दिने निर्णय गरिसकेका छैनौँ,” एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले भने।

यसअघी विगतमा तेश्रो ठूलो दल रहेको एमालेले संविधानसभाको अध्यक्ष पाएको भन्दै माओवादीले आफ्नो दाबी प्रस्तृत गर्दै आएको थियो।

सरकारलाई समर्थन गरेका दलहरुको मत पाए पहिलो संविधानसभाको अध्यक्षता गरेका नेम्वाङ दोस्रो कार्यकालका लागि निर्वाचित हुने निश्चित देखिएको छ।