‘एक वर्षभित्रै संविधान’

  • 19 फेब्रुअरी 2014
ca तस्वीर कपीराइट Surendra Phuyal
Image caption विगतको संविधानसभामा नमिलेका विषय नसुल्झिएकाले यसपटक पनि सभाध्यक्षका सामू चुनौतीको पहाड छ

नवनिर्वाचित संविधानसभा अध्यक्ष सुवास नेम्वांगले दलहरुले प्रतिवद्धता जनाए अनुरुप एक वर्षभित्र संविधान जारी गर्न आफ्नो भूमिका केन्द्रित गर्ने बताएका छन्।

उक्त पदमा निर्विरोध निर्वाचित भएपछि उनले सबै राजनीतिक शक्तिलाई एक भइ संविधान निर्माणमा अग्रसर हुन आह्वान पनि गरे।

तर उनलाई निर्विरोध चयन गर्दा एकै ठाउंमा उभिएका मुख्य शक्तिहरु मूलभूत राजनीतिक मुद्दा र सत्ता बांडफांटमा गम्भीर रुपमा अझै विभाजित रहेकाले नेम्वांगको बाटो सहज नरहेको ठानिएको छ।

चुनौती

संधै सहमति, सहकार्य र एकताको दुहाई दिँदै आएका नेम्वांगको काँधमा दोस्रो पटक संविधानसभाको जिम्मेवारी आइलागेको छ।

उक्त पदमा फेरि निर्वाचित भएपछि यसपटक पनि उनले आफ्नो त्यो मन्त्र दोहोर्याउन बिर्सिएनन्।

उनले भने, “एक वर्षभित्रै संविधान जारी गर्ने प्रतिवद्धता पूरा गरेर जनताप्रति सम्मान व्यक्त गर्नुपर्छ। यो चुनौती पार गर्न सिंगो मुलुक एकैठाउंमा उभिनुपर्छ”।

तर विगतको संविधानसभामा नमिलेका प्रमुख मुद्दाहरुमा दलहरु सहजै साझा विन्दुमा पुग्ने छनक नदेखिएका बेला उनको यस्तो आह्वान फलदायी हुनेमा कतिपयले आशंका गरेका छन्।

समय

अर्कोतिर यसपटक आफ्नो कार्यकुशलता देखाउन उनका सामू पहिले भन्दा कम समय अर्थात एक वर्षमात्रै उपलब्ध हुनेछ।

सरकार निर्माणका क्रममा नेपाली काँग्रेस र नेकपा एमालेबीचभएको सात बुँदे सहमतिमा एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति अनि सभामुखको अर्को निर्वाचन गर्ने विषय उल्लेख छ।

व्यक्तिगत रुपमा पनि नेम्वाङ्गका निम्ति विगतको विफलतालाई उल्ट्याउने विश्व राजनीतिमा नेताहरुले विरलै पाउने अवसर प्राप्त भएको भन्ने विश्लेषकहरुको कमी छैन।