युक्रेनमा शान्ति सहमति

  • 20 फेब्रुअरी 2014
युक्रेनमा  हिंसा तस्वीर कपीराइट gv
Image caption युक्रेनमा गत मंगलबार देखि चर्किएको हिंसामा २६ जनाको ज्यान गैसकेको छ

युक्रेनमा दंगा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीहरुबीच राजधानी कियभ र देशका अन्यभागमा भएको हिंसात्मक भिडन्तपछि राष्ट्रपति भिक्तोर यानुकोभिचले विपक्षी नेताहरुसंग शान्ति सहमति गरेका छन्।

विपक्षका तीनजना प्रमुख नेताहरुसंगको वार्तापछि राष्ट्रपति यानुकोभिचले एउटा वक्तव्य जारी गर्दै, रक्तपात अन्त्य गर्नका निम्ती वार्ता गर्न सहमति जनाइएको बताएका छन्।

युक्रेनी राजधानी कियभको 'इन्डीपेन्डेन्स् स्क्वायर' भनिने मुख्य चोक वरपर प्रहरी र प्रदर्शनकारीहरुबीच तनाव कायमै छ।

देशभर मंगलबार देखि शुरु भएको हिंसामा कम्तीमा २६ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका बताइएको छ।

प्रतिबन्ध

यसैबिच, विरोध प्रदर्शनकारीहरु विरुद्धको हिंसात्मक सुरक्षा कार्वाहीका लागि जीम्मेवार ठानिएका २० जना बरिष्ठ युक्रेनी सरकारी कर्मचारीहरुमाथि संयुक्त राज्य अमेरिकाले प्रवेशाज्ञा प्रतिबन्ध लगाएको छ।

पत्रकारहरुलाई दिइएको जानकारीमा, अमेरिकी विदेश मन्त्रालयका एकजना कर्मचारीले त्यस्तो प्रवेशाज्ञा प्रतिबन्ध लगाइएका युक्रेनी अधिकारीहरुको नाम उल्लेख गरेनन् र त्यस्तो सूचीमा राष्ट्रपति यानुकोभिच पनि परेका छन् की छैनन् भन्ने पनि खुलाएका छैनन्।

ति कर्मचारीले युरोपेली संघसंगको संयोजनमा युक्रेन विरुद्ध थप प्रतिबन्धहरु लगाउन अमेरिका तयार रहेको पनि बताए।

त्यसअघि, राष्ट्रपति बाराक ओबामाले युक्रेनलाई सचेत गराउंदै, उनकै शब्दमा गैरसैनिकहरुले सुल्झाउन सक्ने मुद्दाहरुमा सेनालाई संलग्न हुन नदिन भनेका थिए।

संयम

विवादका सबैपक्षलाई संयम अपनाउन आग्रह गर्दै उनले भने,“हामी युक्रेनी सरकारले संयम अपनाउंछ र शान्तीपूर्ण विरोध प्रदर्शनकारीहरुविरुद्ध हिंसाको प्रयोग गर्नेछैन भन्ने अपेक्षा गर्छौं।

“हामी शन्तिपूर्ण विरोध प्रदर्शन गरिरहेकाहरुले पनि शन्तिपूर्वक नै प्रदर्शन गर्नेछन् भन्ने पनि अपेक्षा गर्दछौं।“

विहीबार फ्रान्स, पोलण्ड र जर्मनीका विदेशमन्त्रीहरुले युक्रेनको भ्रमण गर्ने भएका छन्।