युक्रेनमा सँकट अन्त्य गर्न संझौता

  • 21 फेब्रुअरी 2014
Image caption युक्रेनको राजधानी कियभको मध्य भाग भीडन्त स्थलमा परिणत भएको थियो

युक्रेनमा विपक्षीहरु तथा राष्ट्रपति भिक्टर यानुकोविचले महिनौं लामो राजनीति सँकट अन्त्य गर्ने संझौतामा हस्ताक्षर गरेका छन्।

उक्त संझौतामा आउँदो डिसेम्बर महिनाभित्रै मध्यावधि चुनाव गराउने, दुई दिनभित्रै एउटा अन्तरिम सरकार गठन गर्ने र राष्ट्रपतिका अधिकारहरु सीमित गर्नेगरी संविधानमा संशोधन गर्ने प्रावधानहरु रहेका छन्।

पोल्याण्डका विदेश मन्त्री रादोर्स्ला सिकोर्स्कीले उक्त संझौता एउटा राम्रो लेनदेन भएको र यसले युक्रेनमा सुधार तथा उसको युरोपतर्फको बाटो खोल्ने बताए।

तर युरोमैदानमा रहेका एकजना प्रदर्शनकारी भासिलले भने,"हामीले उनीसँग कुनै संझौता गर्नुहुँदैन। आफुलाई भविष्यमा मुद्दा नलागोस् भनेर उनले यसो गरेका हुन्। जनता एकमात्र कुरा चाहन्छन्, त्यो हो यानुकोविचको राजीनामा।"

गएको केही दिन यता युक्रेनको राजधानी कियभको मध्य भागमा रहेको मैदान वा युरोमैदान भीडन्त स्थलमा परिणत भएको थियो।

प्रदर्शनकारीहरु तथा सुरक्षा दलहरुबीचको भीडन्तमा अधिकांश प्रदर्शनकारीहरुसहित सत्तरी जना भन्दा बढीको ज्यान गैसकेको छ।

चिन्ता

पछिल्ला हिंसाहरुप्रति गहिरो दुख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले दुबै पक्षलाई वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरेका थिए।

उनले भने,"म सबै पक्षलाई तत्काल साँच्चिकै वार्ता गर्न आग्रह गर्दछु। यु्क्रेनमा गहिरिँदै गएको राजनीतिक, सुरक्षा तथा आर्थिक सँकटको समाधान खोज्न तथा थप रक्तपात रोक्न त्यो नै एकमात्र बाटो हो।"

महासचिव बान लगायत अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेजस्तै राष्ट्पति यानुकोविच तथा विपक्षी नेताहरुबीच पटक पटक वार्ता भएको थियो।

युरोपेली संघका विदेश मन्त्रीहरुले झण्डै पाँच घन्टा राष्ट्रपतिलाई भेटेर तत्काल राजनीतिक समाधान खोज्न दबाब दिएका थिए।

हालै कियभ पुगेर फर्केकी युरोपेली सँघकी विदेश नीति प्रमुख क्याथरिन एस्टनले युक्रेनी जनताको सुरक्षा सरकारको प्रमुख दायित्व भएको बताइन्।

एस्टनले भनिन्,"राष्ट्रपति याकुनोविचलाई भेटदा मैले के भनें भने कुनै पनि परिस्थितिमा जनताको सुरक्षाको मुख्य जिम्मेवारी सरकारको हो। यदि उनीहरु सुरक्षित छैनन् भने उनीहरुलाई सुरक्षित राख्‍ने जिम्मेवारी पनि सरकारकै हो।"

रुसी चासो

युक्रेनको राजनीतिक सँकटमा युरोपेली संघ लगायत पश्चिमा मुलुकहरुको बढ्दो संलग्नता युक्रेनसँग सीमा जोडिएको रुसलाई पटक्कै मन परेको छैन।

तस्वीर कपीराइट Getty
Image caption युक्रेन हप्तौं देखि संकटग्रस्त छ र रुस तथा पश्चिमा शक्तिहरुबीचको संघर्षको चपेटामा परेको छ

युक्रेन तेइस बर्ष अघिसम्म तत्कालिन सोभियत संघको एउटा हिस्सा थियो।

सोभियत संघको विघटन पछि सन् १९९१ मा युक्रेन एउटा स्वतन्त्र मुलुक बन्न पुग्यो तर विश्लेषकहरु भन्छन्, रुस अझै पनि युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रको रुपमा हेर्न चाहन्छ।

राष्ट्रपति यानुकोविचको सरकारको प्रमुख सहयोगी रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले पश्चिमा मुलुकहरुमाथि दोहोरो मापदण्ड अपनाइरहेको आरोप लगाए।

उनले भने,"संयुक्त राज्य अमेरिका र युरोपका हाम्रा पश्चिमा साझेदारहरुले युक्रेनका अधिकारीहरुमाथि सबै दोष लाउने गर्दछन् र उग्रवादीहरुको गतिविधिको निन्दा गर्दैनन्। यस्तो दोहोरो मापदण्डले हामीलाई चिन्तित तुल्याउँछ।"

युक्रेन हप्तौं देखि संकटग्रस्त छ र रुस तथा पश्चिमा शक्तिहरुबीचको संघर्षको चपेटामा पनि परेको छ।

राष्ट्रपति यानुकोविचले रुससंग ऋणमा अर्बौं डलर स्वीकार गरेर युरोपसंगको पूर्वनिर्धारित व्यापार सम्झौताबाट पछि हट्ने निर्णय गरेपछि पछिल्लो विरोध प्रदर्शन आरम्भ भएको थियो।

कार्यवाही

युक्रेनमा जारी हिंसाकालागि जिम्मेवार ठहराउँदै अमेरिकाले कैयौं युक्रेनी अधिकारीहरुको प्रवेशाज्ञा रद्द गरिएको जनाएको छ।

त्यस्तै युरोपेली संघले हिंसाकालागि जिम्मेवार अधिकारीहरुको युरोपेली संघका सदस्य मुलुकहरुमा रहेको सम्पत्ती रोक्का गरिने तथा उनीहरुलाई प्रवेशाज्ञा नदिइने घोषणा गरेको छ।

युरो मैदानमा उपस्थित एकजना प्रदर्शनकारी इभान जुप्काले ती नाकावन्दीहरुको स्वागत गर्दै भने,"म यससंग सहमत छु। यी आवश्यक थिए, तर यो नाकावन्दी अलि चाँडै लगाइनु पर्थ्यो। त्यसो भए उनीहरुले हामीहरुमाथि गोली चलाउने थिएनन् र मानिसहरुको ज्यान जाने थिएन।"

युक्रेनमा जस्तो खाले राजनीतिक परिवर्तनहरु भएपनि पश्चिमा मुलुकहरु तथा एउटा प्रमुख विश्व आर्थिक शक्ति बन्न कम्मर कसेको रुसबीच त्यहाँ प्रभाव जमाउने विषयमा होडवाजी जारी नै रहने निश्चित छ।