चीनियाँ पर्यटकको ओइरो

  • 22 फेब्रुअरी 2014
चीनियाँ पर्यटकहरु
Image caption धेरै चीनियाँ पर्यटकहरुले काठमाण्डू, पोखरा र चितवन रुचाएको व्यवसायीहरु बताउछन्

गएको दुई वर्षयता नेपालमा चीनियाँ पर्यटकहरुको आगमन अत्यन्त उत्साहजनक भएको भन्दै नेपालका पर्यटन व्यवसायीहरुले सन्तोष व्यक्त गरेका छन्।

तर खर्चालु र धनाड्य चीनियाँ पर्यटक नेपाल भित्र्याउन चीनमा नेपालबारे प्रचार-प्रसार र त्याहाँका ठूला शहरसंग नेपालको सीधा हवाइ सम्पर्क बढाउनु पर्नेमा अधिकारी तथा व्यवसायीहरुले जोड दिएका छन्।

फेब्रुअरी महिनाको शुरुमा काठमाण्डूमा चिनियाँ बसन्त उत्सवको चहलपहल बढेको थियो।

त्यस्तो चहलपहल काठमाण्डूको पर्यटकीय क्षेत्र ठमेल, पोखराको लेकसाइड र चितवनको सौराहमा देखिएको थियो।

‘मेड इन नेपाल’

ठमेलका एक व्यापारी विनोदमणि राईका अनुसार पोहर सालदेखि पश्चिमा पर्यटन नआउने जाडो याममा पनि चीनियाँ पर्यटकहरु आउने गरेका छन्।

“उनीहरुको रोजाइ नेपालमा बनेका ‘मेड इन नेपाल’ लेखिएका सामानहरु हुने गरेको छ।”

गएको दुई वर्षयता नेपालमा चीनिया पर्यटकहरुको आगमन गुणात्मक रुपमा बढेपछि पर्यटन व्यवसायीहरु निकै उत्साहित भएका छन्।

अग्रणी पर्यटन व्यवसायी योगेन्द्र शाक्यका अनुसार निकै खर्चालु र धनाड्य पर्यटकहरु पनि नेपाल आउने गरेका छन्।

“काठमाण्डु को न्यू रोडमा घडी बेच्ने चीनियाँहरुमात्र होइन अब त हेलिकोप्टर भाडामा लिने चीनियाँ पर्यटकहरु आउन थालेका छन्।”

बढ्दो क्रम

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुवाश निरौलाका अनुसार दुई वर्षअघि मात्रै नेपालमा वर्ष भरिमा २० हजार चीनियाँ पर्यटक आएका थिए, तर सन् २०१३मा त्यो संख्या पाँच गुनाले बढ्यो र करिव १ लाख चिनिया पर्यटकले नेपाल भ्रमण गरे।

निरौलाले चीनका ठूला शहरहरुसंग हवाइ सम्पर्क बढाउन सके त्यो संख्या अझै बढाउन सकिने बताए।

“बढी भन्दा बढी चीनियाँ पर्यटक नेपाल भित्र्याउन नेपालको आफ्नै वायु सेवा चीनका ठूला शहर जान जान सक्नु पर्छ र चीन भित्र नेपालबारे प्रचार-प्रसार आवश्यक छ।”

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१३मा एक अरब भन्दा बढी मानिसहरुले विदेश भ्रमण गरेकोमा धेरै यात्रु चीनका थिए।

विभिन्न अध्ययनहरुका अनुसार कयौ चीनियाँ पर्यटकहरु तुलनात्मक रुपमा निकै खर्चालु पनि छन्।

गन्तव्यहरु

नेपालमा आएका धेरै चीनियाँ पर्यटकहरुले काठमाण्डू पोखरा र चितवन रुचाएको व्यवसायीहरु बताउछन्।

अझ नेपालीहरुमाझ चीनियाँ भाषाको ज्ञान र चिनियाँले रुचाउने खाल्को थप रेष्टुराँ र होटलजस्ता सुविधा आवश्यक रहेको अधिकारी तथा व्यवसायीहरु बताउछन्।

हाल चीनका तीन वटा वायुसेवाले चेङ्दु, ग्वाङ्जो र कुनमिङ शहरबाट काठमाण्डू उडान गर्ने गरेका छन्।

कतिपय चीनिया पर्यटकहरु तिब्बतको ल्हासा हुँदै स्थलमार्ग बाट पनि नेपाल आउने गरेका छन्।