राष्ट्रपति हटाउने युक्रेनी संसदको निर्णय

  • 22 फेब्रुअरी 2014
युक्रेनी सांसदहरु तस्वीर कपीराइट AP
Image caption युक्रेनको संसदले राष्ट्रपतिलाई हटाउने तथा उनी विरुद्ध महाभियोग लगाउने पनि निर्णय गरेको छ

युक्रेनमा सत्ता संकट चर्कँदै जाँदा संसदले राष्ट्रपति भिक्टर यानुकोविचलाई सत्ताबाट हटाउने र उनी विरुद्ध महाभियोग लगाउने निर्णय गरेको छ।

तर राष्ट्रपति यानुकोविचले आफ्नो पदबाट राजीनामा नगर्ने जनाएका छन्।

एउटा स्थानीय टेलिभिजनबाट प्रसारित वक्तव्यमा उनले सँसदमा आफ्ना विपक्षीहरुको कदमलाई गुण्डागर्दी, डकैती र सत्ता विद्रोहको संज्ञा दिए।

उनले नयाँ सभामुख चुन्ने संसदको कदम गैरकानुनी भएको पनि बताए।

सहमति

शुक्रबार मात्रै राष्ट्रपति यानुकोविचले विपक्षसंग एउटा अन्तरिम सरकार गठन गर्ने तथा मध्यावधि चुनाव गराउने सहमतिमा हस्ताक्षर गरेका थिए।

युक्रेनमा राष्ट्रपति भिक्टर यानुकोविच एउटा अन्तरिम सरकार गठन गर्न तथा मध्यावधि चुनाव गराउन सहमत भएको चौबीस घन्टापछि देशको सत्ता कसको हातमा छ भन्ने स्पष्ट भैसकेको छैन।

राष्ट्रपति यानुकोविच कहाँ छन् भन्नेपनि थाहा भएको छैन।

उनका एकजना निकट सहयोगीले उनी पूर्वी नगर खार्किभमा रहेको बताएका छन्।

रिक्तता

युक्रेनमा महिनौं लामो राजनीतिक संकट अन्त्य गर्ने उद्देश्यले एउटा सहमति गरिएको चौबीस घन्टा नबित्दै राजधानी कियभमा सत्ता रिक्तताको जस्तो स्थिति देखिएको छ।

राष्ट्रपति प्रासाद बाहिर पहरा दिइरहेका प्रहरीहरु अचानक त्यहाँबाट हटेपछि प्रदर्शनकारीहरु प्रदर्शनकारीहरु उनको कार्यालय तथा आवासीय भवनमा प्रवेश गरेका थिए।

राष्ट्रपति प्रासादमा रहेका एकजना प्रदर्शनकारी ग्रिगोरी मसालीले भने,“हाम्रो उद्देश्य भनेको यहाँ हुलदङ्गा तथा लुटपाट रोक्नु हो ताकि सबैतिर शान्ति कायम होस्। हामी यहाँ दुर्घटना तथा भीडन्त रोक्ने उद्देश्यले आएका हौं।”

यसअघि युरोपेली संघको मध्यस्थतामा विपक्षी नेताहरुसंग एक सहमतिमा हस्ताक्षर गर्दै राष्ट्रपति यानुकोविचले आउँदो डिसेम्बर महिनाभित्रै चुनाव गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले एउटा राष्ट्रिय एकताको सरकारको गठन गर्ने र राष्ट्रपतिका अधिकारहरु सीमित गर्ने सन् २००४ को संविधानमा फर्कन पनि सहमति जनाएका थिए।

तर युरो मैदान पनि भनिने इन्डिपेन्डेन्स स्क्वायरमा भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए।

कारवाही

उनीहरुले हालैका हिंस्रक भीडन्तहरुमा सत्तरी जना भन्दा बढीको ज्यान गएको प्रति आक्रोश व्यक्त गर्दै दोषीहरुमाथि कारवाही गरिनु पर्ने माग पनि गरेका थिए।

यसैबीच युक्रेनको संसदले जेलमा रहेकी विपक्षी नेतृ युलिया तिमोशेन्कोलाई रिहा गर्ने प्रस्तावलाई अत्यधिक मतले अनुमोदन गरेको छ।

भूतपूर्व प्रधानमन्त्री तथा राष्ट्रपति यानुकोविचकी एक कट्टर प्रतिद्वन्द्वी तिमोशेन्को फेब्रुअरी २०१० मा भएको राष्ट्रपतीय चुनावमा सानो अन्तरले पराजीत भएकी थिइन्।

त्यसपछि सन् दुई हजार एघारमा रुससंगको एउटा ग्याँस संझौतामा अधिकारको दुरुपयोग गरेको अभियोगमा उनलाई सात बर्षको जेल सजाय सुनाइएको थियो।

उनी युक्रेनकी लोकप्रिय राजनीतिज्ञहरुमध्ये एक हुन् र उनका समर्थकहरुले उनलाई लगाइएको अभियोग झुठ्ठा भएको बताउँदै आएका छन्।

साँसदहरुले अलेक्जेण्डर तुर्चिनोभलाई नयाँ सभामुखको रुपमा चयन गरेका छन्, जसले नयाँ सरकार नबन्दासम्म सरकारका कामहरुको समन्वय गर्नेछन्।