सरकारलाई दिएको समर्थन 'फिर्ता नलिने'

  • 23 फेब्रुअरी 2014
तस्वीर कपीराइट bbc
Image caption प्रधानमन्त्रीले आफ्नै दलबाट समेत मन्त्रीहरु चयन गर्न सकेका छैनन्

गृहमन्त्रालय आफूलाई नदिएर नेपाली काँग्रेसले धोका दिएको आरोप लगाउँदै आएको नेकपा एमालेले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनाएको छ।

शनिबार सूरु भएको केन्द्रीय कमिटी बैठकमा नेताहरुले सरकारका कामकार्वाही प्रति पर्ख र हेरको निति लिनुपर्नेमा जोड दिएको थिए।

केही नेताहरुले कांग्रेसलाई विश्वास गर्न नसकिने भन्दै गृहमन्त्रालय पाए पनि सरकार बाहिरै बस्नुपर्ने धारणा राखेका छन्।

एमालेको स्थायी समितिको बैठकले यसअघि नै उपप्रधान तथा गृहमन्त्री नपाउनजेल सरकारमा नजाने निर्णय गरिसकेको छ।

समर्थन

केन्द्रीय समितिको बैठकमा बोल्ने केही नेताहरुले गृहमन्त्रालयबारे लिखित सहमति नगरेर पार्टी नेतृत्वले कमजोरी गरेको बताएपनि यथास्तीमा सरकारमा जान नहुने धारणा राखेका थिए।

तर मन्त्रालय बाँडफाँड सम्बन्धी विवादकै कारण सरकारलाई दिएको समर्थन फिर्ता नलिइने एमाले सचिव शंकर पोख्रेलले बताए।

“भर्खर मतदान गरेकाले सरकारलाई दिएको समर्थनबाट हामी पछि हट्दैनौं, हाम्रो अडान यथावत छन्, केही समय पर्ख र हेरको नीति लिन्छौँ,” उनले भने।

एक बर्ष भित्र संविधान लेखन पुरा गर्ने प्रतिबद्धता जनाएका दुई दलले संविधान बनेपछि राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदहरुको निर्वाचन गर्ने सहमती गरेका थिए।

अविश्वास

तर पछिल्ला दिनमा उनीहरुबिच अविश्वास गहिरिदैँ गर्दा कतिपय एमाले नेताहरु गृहमन्त्रालय पाए पनि सरकारमा सहभागी हुनु नहुने पक्षमा उभिएका छन्।

अर्को नयाँ सहमति नभएसम्म सरकारमा सहभागी हुनु नहुने धारणा राख्ने सभासदहरुमा एमालेका रविन्द्र अधिकारी पनि एक हुन्।

उनी भन्छन, “गृहमन्त्रालयको मात्र बिषय होईन, विश्वासको वातावरण नबनी हामी सरकारमा जान सक्दैँनौं।”

नेकपा एमालेको अडान र आफ्नो दल भित्रका असन्तुष्ट नेताहरुलाई सहमतीमा ल्याउन नसक्दा प्रधानमन्त्री सुशिल कोइरालाले आफू निर्वाचित भएको दुई हप्तासम्म पनि मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन्।

एमालेले प्रधानमन्त्रीको चुनाव अघि आफूलाई गृहमन्त्रालय दिने सहमती भएको दाबी गरेपनि कांग्रेस नेताहरुले त्यसलाई अस्विकार गर्दै आएका छन्।

किचलोका कारण प्रधानमन्त्री शुसील कोइरालाले आफू कार्यकारी प्रमुखमा निर्वाचित भएको दुई हप्ता बित्न लाग्दा पनि आफ्नै आफ्नै दल कांग्रेसबाट समेत मन्त्रीहरु चयन गर्न सकिरहेका छैनन्।

आफ्नो कार्यकालको सूरुबाटै उनलाई आफ्नै पार्टी भित्र र बाहिरबाट अप्ठेरो पर्दै गएको देखिन्छ।