युक्रेनको नयाँ सरकारमाथि रुसको आक्रोश

  • 25 फेब्रुअरी 2014
तस्वीर कपीराइट AFP
Image caption युरोपियन युनियन र अमेरीकाले युक्रेनको नयाँ सरकरलाई समर्थन गरेका छन्

युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचको बर्खास्तीबारे विवादहरु बढ्दै जाँदा रुसले पश्चिमा समर्थन पाएको युक्रेनको नयाँ सरकारको कडा आलोचना गरेको छ।

रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले किएभस्थित अन्तरिम सरकारको वैधता माथि प्रश्न उठाउँदै उनीहरु सशस्त्र विद्रोहबाट शक्तिमा आएको बताएका छन्।

रुसी विदेशमन्त्रालयले सो कदमको विरोध गरिरहेका रुसी भाषा बोलिने क्षेत्रहरुमा दमन भएको जनाएको छ।

अर्थ

बीबीसी रसियन डट कमका सम्पादक फेमिल इस्माइलोव भन्छन्, राष्ट्रपति मेदभेदेभको वकत्व्यलाई आश्चर्यजनक रुपमा लिनुपर्ने देखिदैन्।

सोभियतसंघको पुरानो अनुभवकै आधारमा क्रेमलिनको भनाइ आएको छ र पश्चिमाहरुले नयाँ, सफल र शक्तिशाली रुसलाई अवमूल्यन गर्न खोजेको उसको ठहर छ।

युक्रेन मस्कोको प्रभाव क्षेत्र भन्दा बाहिर गएपछि पूर्व सोभियत गणतन्त्रहरुलाई रुसी छातामुनी ल्याउने राष्ट्रपति पुटिनको अवधारणा शंकाकै घेरामा रहेको टाढाको सपना बन्नपुगेको छ।

युक्रेनमा बसोबास गरिरहेका रुसीहरुको अधिकार रक्षा गर्ने भन्ने मस्कोको भनाइ आफ्नो भूराजनीतिक स्वार्थ लागू गर्ने अर्को राजनीतिक अवधारणा अन्तर्गत आएको छ।

किएभका नयाँ शासकहरुले युक्रेनका रुसी समुदाय त्यहाँको राजनीतिक प्रकियाबाट अलग नगरिने कुरा सुनिश्चित गर्नुपर्नेछ।

त्यस्तो अवधारणा सन् २००८ मा जर्जियासँग भएको सशस्त्र संघर्षको क्रममा कारणका रुपमा प्रयोग गरिएको थियो।

रुसले अहिले जर्जियाबाट अलग भएका दक्षिणी ओसिटीया र अफखाजीया प्रान्तमाथि नियन्त्रण जमाएको छ।

के त्यस्तै क्रिमियामा पनि होला? रुसले त्यहाँ पृथकतावादी भावनालाई समर्थन गर्न सक्छ।

तर अधिकांश विज्ञहरु युक्रेनको भौगोलिक अखण्डतामा कुनै खतरा नरहेको विश्वास गर्छन्।

समर्थन

अमेरिकाले युक्रेनलाई आर्थिक स्थायित्व तर्फ फर्काउन सहयोग उपलब्ध गराउन तयार रहेको बताएको छ।

ह्वाइट हाउसका प्रवक्ताले अमेरिकी सहयोग युक्रेनमा शिक्षा र स्वास्थ्यको लगानी बढाउन केन्द्रित हुने बताए।

फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलन्दले आफ्ना रुसी समकक्षी भ्लादीमिर पुटीनलाई टेलिफोन गरी युक्रेनमा शान्तीपूर्ण रुपमा शक्ति हस्तान्तरणमा जोड दिएका छन्।