'महत्वपूर्ण पद बाँडफाँडमा बेवास्ता भयो'

  • 25 फेब्रुअरी 2014
Image caption स‌ंविधानसभाले चुनाव मार्फत बुधवार आफ्नो उपाध्यक्ष चुन्ने तयारी गरेको छ

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठवन्धन भएपछि सशंकित जस्तो देखिएको एकीकृत माओवादीले राज्यका महत्वपूर्ण पदको बांडफांडमा आफूलाई समेट्न नखोजिएको भन्दै असन्तुष्टि प्रकट गरेको छ।

त्यसको झल्को संविधानसभाको उपाध्यक्ष हुने संसदको उपसभामुख पदमा देखिएको छ।

कांग्रेस र एमालेले सहयोग गर्ने वचन दिएपनि उक्त पदमा उम्मेदवारी दिने अन्तिम दिन मंगलबार एकीकृत माओवादीले त्यसका लागि चुनावमा जान आफू इच्छुक नभएको बताएको छ।

अनिच्छा

नेकपा एमाले र नेपाली कांग्रेसले संविधानसभाको उपसभामुखको निर्वाचनमा एकीकृत माओवादीलाई भोट हाल्न लगभग सहमत भइसकेको अवस्थामा एमाओवादीका नेता पोष्टबहादुर बोगटीले आफ्नो पार्टी उक्त पदको लागि त्यति इच्छूक नभएको बताएका छन्।

“एमाले र कांग्रेसले दिनुपर्ने र हामीले लिने जस्तो गरेर जानुपर्ने बाध्यात्मक स्थिति हामीलाई छैन् । उपसभामुखमा गएर कुनै कार्यकारी अधिकार पनि हुदैँन त्यही भएर त्यता हामी इच्छुक छैनौं,” उनले भने।

सोमबारसम्म सहमतीय रुपमा उपसभामुख चयन गर्न दिइएको म्यादभित्र सहमति हुन नसकेपछि मंगलबार दिउँसो दुई बजेसम्म बहुमतीय आधारमा उपसभामुखको निर्वाचन गर्न उम्मेदवारी दर्ता गरिसक्नु पर्नेछ।

त्यसपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने र बुधवार चुनाव गर्ने कार्यतालिका छ।

दावी

तेस्रो दलको हैसियतले सभामुखको पद पाउनु पर्ने दावी गर्दै आएको एकीकृत माओवादीले उक्त पद नपाएपछि उपसभामुखमा रुचि नभएको जनाएको हो।

तर निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा औपचारिक निर्णय भने चार प्रमुख नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र आफु सम्मिलित केन्द्रीय कार्यलयको बैठकले मंगलबार गर्ने नेता बोगटीले बताए।

एकीकृत माओवादीले उपसभामुख नलिए चौथो दलको हैसियतले आफ्नो दावी रहने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बताउंदै आएको छ।

उक्त पदको दौडमा तराई केन्द्रित दलहरु पनि रहेका छन्।