दिलशोभाद्वारा यौन दुराचारको कडा खण्डन

  • 26 फेब्रुअरी 2014
तस्वीर कपीराइट bbc
Image caption दिलशोभाले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिएकी छिन्

बुधबार एउटा राष्ट्रिय अखबारले निसहाय वृद्धवृद्धालाई सहयोग गरी देशविदेशमा चर्चित समाजसेवी दिलशोभा श्रेष्ठमाथि यौन दुराचारको आरोप लागेको समाचार प्रमुखताका साथ प्रकाशित गरेपछि सिर्जित विवादका माझ उनले ती आरोपको कडा खण्डन गरेकी छिन्।

उनले सञ्चालन गर्दै आएको आमाघरमा खाना पकाउन राखिएकी एक सहयोगीलाई एक अशक्त बिरामी महिलालाई हेरचाह गर्न पठाएकोबारे गरिएको कुराकानीलाई गलत ढँगले प्रस्तुत गरी आफुमाथि आरोप लगाइएको उनले बताइन्।

आमाघरमा विना अनुमति र कमजोर व्यवस्थापनकामाझ असहाय बालबालिकालाई समेत आश्रय दिइएको भन्दै उजुरीहरु परेका थिए।

उद्धार

बुधबार केन्द्रिय बालकल्याण समिति तथा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले त्यहाँ राखिएका ३४ केटाकेटीलाई उद्धार गरेको थियो।

आफुलाई नियम कानुनको ज्ञान नभएको बताउँदै उनले बालगृह सञ्चालन गर्न आवश्यक अनुमति लिन चुकेको स्वीकार गरिन्।

तर उनले यौन दुराचारको आरोपको भने कडा प्रतिवाद गरिन्।

उनले भनिन्, “मलाई यो यौन दुराचार भनेर लेखेकोमा धेरै दुख लाग्यो। मेरो मानहानी भयो। मैले कहाँ के गराएको हो त्यो प्रमाण जसरी भएपनि देखाउनै पर्छ।”

उनले आफ्नो सँस्थामा आश्रित वृद्धवृद्धा वा बालबालिका कसैलाई अन्यत्र पैसाको निम्ति पठाउने नगरेको बताइन्।

फोन रेकर्ड भएको प्रसङ्ग उनको सँस्थामा कार्यरत एक भान्से महिलालाई नजिकैको अशक्त वृद्ध महिलाकहाँ पठाएको विषय भएको उनको भनाई थियो।

तस्वीर कपीराइट bbc
Image caption दिलशोभाले असहाय बृद्धबृद्धा बटुलेर आमाघर स्थापना गरेकी थिइन्

“त्यो बिरामी आमालाई यहाँ ल्याएर सेवा गर्नुभन्दा यहाँ खाना पकाउने नानीलाई त्यहाँ पठाउने कुरा भएको हो। किनभने त्यहाँ रातीमात्रै सेवा गर्नुपर्ने र बिरामीको दिसापिसाब गराउने, तातो पानी खुवाउने आदि कारणका लागि त्यहाँ सुत्नका लागि उनलाई पठाएको कुरा हो।”

निगरानी

यौन दुराचार लगायत उजुरीपरेपछि जिल्ला प्रशासन कार्यालय र केन्द्रिय बालकल्याण समितिले आमाघरमाथि केही समययता निगरानी राखिरहेको अधिकारीहरुले बताएका छन्।

सूचना र उजुरीका आधारमा ती आरोपमाथि छानबिन थालिसकेको काठमाण्डौँका प्रमुख जिल्ला अधिकारी बसन्त गौतमले बताए।

“अहिले सबभन्दा जरुरी कुरा भनेको बालबालिकाको हित रक्षा गर्दै तिनलाई सँरक्षणमा लिनुपर्ने विषय हो। त्यो हामीले गरिसकेका छौँ। त्यसपछि अब व्यक्तिगत वा सँस्थागत रुपमा लगाइएका आक्षेपहरु बारे चाहिँ छानबिन गरी अघि बढ्नु पर्ने हुन्छ। त्यस्तो छानबिन शुरु भइसकेको छ,” गौतमले भने।

बालबालिकाहरुलाई उद्धार गरेर हाल अस्थायी आश्रयस्थलमा राखिएको छ।

बुधबार बिहान बालबालिका उद्धार गर्न पुगेको टोलीमा सँलग्न बालकल्याण समितिकी कार्यक्रम व्यवस्थापक नमूना भुषालले आमाघरमा तोकिएको मापदण्ड अनुसार बालबालिकाको रेखदेख नगरिएको बताइन्।

“उहाँले बालगृहको रुपमा दर्तापनि गर्नु भएन। साथै त्यहाँको अवस्था एकदमै दयनीय थियो। हामीले पटकपटक भन्दापनि उहाँले सुधार्न सक्नु भएन। त्यसो भएर बालबालिकालाई सुरक्षित पार्न हामीले उद्धार गरेका हौँ,” भुषालले भनिन्।

लापरवाही

नियम अनुसार आवासीय बालगृह सञ्चालन गर्न सरकारले भौतिक संरचना, सरसफाई तथा पोषण जस्ता विषय समेटिएको एक निश्चित मापदण्ड बनाएको छ।

तर विगतमा बालकल्याण समिति स्वयमले आमाघरमा असहाय बालबालिका पठाउन सिफारिस गर्ने गरेको एक पत्र बीबीसीले पनि हेरेको छ।

जसबाट नियम बसाल्नपर्ने निकायबाटै लापरवाही गरिएको पनि देखिन्छ।

दिलशोभाले सञ्चालन गरेको आमाघरका निम्ति देश विदेशबाट लाखौँ रुपियाँको सहयोग आउने गरेको भएपनि त्यस अनुरुपको भौतिक तथा आर्थिक व्यवस्थापन र सरसफाई नभएकोमा विगतदेखिनै प्रश्न उठाइने गरिएको थियो।