युक्रेनमा नयां मन्त्रीमण्डल प्रस्ताव

  • 27 फेब्रुअरी 2014
आरसेनी यात्सेन्युक तस्वीर कपीराइट .
Image caption प्रस्तावित युक्रेनी प्रधानमन्त्रीले आफूहरुले निकै अलोकप्रीय आर्थिक निर्णयहरु गर्नु पर्ने बताएका छन्

युक्रेनमा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत नेता आरसेनी यात्सेन्युकले बीबीसीसंग कुरा गर्दै आफ्नो देश संकटको संघारमा पुगेको बताएका छन्।

राजधानी कियभमा विरोध प्रदर्शनकारीहरुले शिविर खडा गरेका स्थान, इन्डीपेन्डेन्स स्क्वायरमा उपस्थित भिडका सामु, पश्चिम समर्थक नेताहरु सम्मीलित नयां मन्त्री मण्डलको पनि घोषणा गरिएको छ।

अनुमोदन

उक्त प्रस्तावित मन्त्रीमण्डललाई विहीबार संसदले अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।

आरसेनी यात्सेन्यूकले युक्रेनमा सबैभन्दा गाह्रो जीम्मेवारी सम्हाल्न लागेका छन्।

उनले प्रधानमन्त्रीका रुपमा आफूले र एउटा नयां राष्ट्रिय एकताको सरकारले मिलेर एकदमै अलोकप्रीय निर्णयहरु गर्नु पर्ने बताएका छन्।

देशको नराम्रो आर्थिक अवस्थाका लागि उनले राष्ट्रपति यानुकोभिचको शासनकालमा भएको भ्रष्टाचारलाई दोष दिएका छन्।

बीबीसीसंग कुरा गर्दै उनले आफ्नो नेतृत्वको सरकारलाई उनकै शब्दमा, राजनीतिक आत्महत्याकारीहरुको सरकार भनेका छन्, जुन उनले लिनु पर्ने कडा आर्थिक निर्णयहरु तर्फको संकेत हो।

त्यस्ता निर्णयहरु पछि नयां सरकार युक्रेनी जनतामाझ लोकप्रीय नहुन सक्छ। युक्रेन, राष्ट्र ऋण तिर्न नसक्ने अवस्थाबाट बच्ने प्रयासमा छ।

आरसेनी यात्सेन्युकले केही बाहिरी र आन्तरिक शक्तिहरु देशलाई टुक्राउन लागि परेका भन्दै युक्रेन एकताबद्ध रहने प्रतिबद्धता पनि व्यक्त गरे।

उच्च प्राथमिकता

उनले रुससंगको सम्बन्ध आफ्नो राजनीतिक एजेन्डाको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

उनले रुससंग अब नयां ढंगको सम्बन्ध बनाउनु पर्ने पनि बताए।

"राम्रो सम्बन्ध कायम गर्नका निम्ती पहिले आफूले राम्रा सम्बन्धहरुको निर्माण गर्नुपर्छ। त्यसैले हाम्रो मुख्य काम भनेको हाम्रा रुसी साझेदारहरुसंग नयां ढंगले सम्बन्ध बनाउनु नै हो," नेता यात्सेन्युकको भनाई थियो।

रुसले युक्रेनमा नयां नेतृत्व एउटा सशस्त्र विद्रोह मार्फत सत्तामा आएको भन्ने टिप्पणी गरेका बेला, त्यस्तो नयां सम्बन्ध निर्माणको कुरा आएको छ।

यसैबीच संयुक्त राज्य अमेरिकाले युक्रेनको धर्मराउंदो अर्थतन्त्रलाई सघाउन भनी एक अर्ब डलरको ऋण ग्यारेन्टी प्रदान गर्ने प्रस्ताव गरेको छ।

उता, अपदस्थ राष्ट्रपति भिक्तोर यानुकोभिचलाई, अन्तर्राष्ट्रिय रुपमा खोजी भैरहेको व्यक्तिहरुको सूचीमा राखिएको छ।

हालको अवस्थिती स्पष्ट नभएको भिक्तोर यानुकोभीचमाथि गत हप्ता दंगा प्रहरीबाट मारिएका १०० जना भन्दा बढी विरोध प्रदर्शनकारीहरुको मृत्युको लागि जीम्मेवार भएको आरोप लगाइएको छ।