अल्पसंख्यक युवाका निम्ती ओबामाको नयां कार्यक्रम

  • 28 फेब्रुअरी 2014
बाराक ओबामा तस्वीर कपीराइट AP
Image caption अल्पसंख्यक समुदायका युवकहरुलाई सहयोगको आवश्यकता रहेको राष्ट्रपति ओबामाले बताएका छन्

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति बाराक ओबामाले देशको अल्पसंख्यक समुदायका युवकहरुलाई सहयोग पुर्याउने एउटा नयां कार्यक्रमको घोषणा गरेका छन्।

उनले त्यस्ता युवकहरुले लामो समय देखि नै समाजमा उन्नति गर्न नसकिरहेकाले तिनीहरुका लागि अवसरहरुको सिर्जना गर्न अझ बलियो प्रयास गर्न पनि आह्वान गरेका छन्।

अमेरिकाका प्रथम काला राष्ट्रपति ओबामा सामान्यतया रंग र जातीयताको आधारमा तयार गरिने नीतिहरुबाट टाढा रहंदै आएका थिए।

तगारो

तर यो नयां कार्यक्रमको घोषणा गर्दै राष्ट्रपति ओबामाले एउटा भावपूर्ण भाषणमा हिस्पानीक र अफ्रीकी-अमेरिकी समुदायका युवा पुरुषहरुले अमेरिकी समाजमा निकै ठूला तगारोहरुको सामना गर्नु पर्ने स्थिती रहेको बताएका छन्।

उनले, उनकै शब्दमा, मुटु टुक्रिने तथ्यांकहरु भन्दै उक्त अल्पसंख्यक समुदायका प्राय: युवकहरु घरमा बाबुको छत्रछायां विना हुर्कनु पर्ने, सम्भवत: जेल जानु पर्ने वा हिंसात्मक अपराधको शिकार बन्नु पर्ने अवस्था रहेको बताएका छन्।

गत महिना अफ्रीकी-अमेरिकी पुरुषहरुमाझ बेरोजगारी दर १२ प्रतिशत रहेको थियो जुन स्वेत पुरुषहरुको दांजोमा दोब्बर भन्दा बढी हो।

राष्ट्रपति ओबामाले ति समुदायका त्यस्ता युवाहरुको समस्या र सोचसंग आफू जानकार रहेको बताएका छन्।

क्षमाशील

उनले भने,‌”आजका ति युवाहरु र मेरो परिस्थितीबीचको भिन्नता के थियो भने, म जुन वातावरणमा हुर्कीएं त्यो तिनीहरुको भन्दा केहि बढी क्षमाशील थियो। त्यसैले जब म कुनै गल्ती गर्दथें, त्यसको परिणाम अहिलेका युवाले भोग्ने जस्तो कडा भएन।“

“मलाई प्रोत्साहन दिने मानिसहरु थिए, मेरो आमा र बाजे बजैहरु मात्र होइन की उत्तम शिक्षकहरु र सामुदायीक अगुवाहरु थिए। तिनीहरुले मलाई निकै मेहनत गर्न र बेस्सरी पढाइ गर्न प्रोत्साहन दिए ताकी म आफै केही बन्न सकुं,” राष्ट्रपति ओबामाले बताए।

उनले, अल्पसंख्यक समुदायका विद्यार्थीहरुलाई विद्यालय शिक्षालाई निरन्तरता दिन र फौजदारी कानूनी प्रणालीबाट टाढै राख्‍न सघाउने उपायहरु विकास गर्न नयां संघीय कार्यदलको घोषणा गरेका छन्।