पुरानै संझौता लागू गर्नुपर्ने यानुकोविचको माग

  • 28 फेब्रुअरी 2014
यानुकोविच तस्वीर कपीराइट AFP
Image caption यानुकोविचले आफ्नो देशमा अस्थिरता फैलाउन पश्चिमा मुलुकहरु जिम्मेवार रहेको आरोप लगाएका छन्

सत्ताच्युत गरिएका युक्रेनका राष्ट्रपति भिक्टर यानुकोविचले विपक्षसँग उनले गरेको संझौता लागू गर्नुपर्ने माग गरेका छन्।

गत सप्ताहान्तमा राजधानी कियभ छाडेका यानुकोविच पहिलोपटक सार्वजनिकरुपमा देखिएका हुन्।

दक्षिणी रुसी शहर रोस्तोभ अन दोनमा शुक्रबार आयोजित एउटा पत्रकार सम्मेलनलाई संबोधन गर्दै उनले, उनकै शब्दमा, राष्ट्रवादी, फासिष्ट ठगहरुले आफुलाई असंवैधानिकरुपमा सत्ताबाट हटाएको बताए।

उनले आफुलाई व्यक्तिगत सुरक्षाको प्रत्याभूति दिइएमा आफु युक्रेन फर्कन तयार रहेको पनि बताए।

उनले आफु अझै पनि युक्रेनको वैध राष्ट्रपति रहेको कुरामा जोड दिएका थिए।

चुनाव

यानुकोविचले भने, “आउँदो मे २५ तारिखमा आह्वान गरिएको आमचुनाव गैरकानुनी हो र म त्यसमा भाग लिने छैनँ। मेरो विचारमा चुनाव युक्रेनको संविधान र कानुन अनुसारमात्रै गराइनुपर्छ।“

उनले आफ्नो मुलुकमा अस्थिरता फैलाउनकालागि पश्चिमा मुलुकहरु जिम्मेवार रहेको आरोप पनि लगाए।

यानुकोविचले युक्रेनको वर्तमान सँकटको अन्त्य गत साता युरोपेली सँघका तीनजना विदेश मन्त्रीहरुको मध्यस्थतामा उनले विपक्षी नेताहरुसंग सही गरेको संझौताको कार्यान्वयनबाट मात्र हुनसक्ने बताए।

सो संझौतामा एउटा अन्तरिम सरकार गठन गर्ने तथा ताजा चुनाव गराउने विषयहरु परेका थिए।

तर मैदान पनि भनिने इन्डिपेन्डेन्स स्क्वायरमा उपस्थित प्रदर्शनकारीहरुले उक्त संझौतालाई ठाडै अस्वीकार गरेका थिए।

उनीहरुले राजधानी कियभमा झण्डै एकसयजना प्रदर्शनकारीहरुको हत्याकालागि यानुकोविचलाई जिम्मेवार ठहराउँदै उनको तत्काल राजीनामाको माग गरेका थिए।

आक्रोश

आफु विरुद्धको आक्रोश चर्कँदै गएको देखेपछि राष्ट्रपति यानुकोविचले अचानक राजधानी छाडेका थिए।

त्यसपछि बसेको युक्रेनको सँसदले नयाँ अन्तरिम राष्ट्रपति र अन्तरिम गृहमन्त्री चयन गर्नुकासाथै यानुकोविचलाई पक्रन पुर्जी जारी गरेको थियो।

यसैबीच अष्ट्रिया र स्वीट्जर्ल्याण्डले उनीहरुको मुलुकमा यानुकोविच र उनका सहयोगीहरुको कुनै सम्पत्ती रहेको भए तिनलाई जफत गरिने जनाएका छन्।

यसै साता केही अघि युक्रेनका महान्यायाधिवक्ताले यानुकोविचलाई सुपुर्दगी गर्न रुसलाई अनुरोध गरिने जनाएका थिए।

युक्रेनका गृहमन्त्रीले रुसी नौसेनामाथि क्राइमिया क्षेत्रस्थित सिभ्यासतोपोल विमानस्थल कब्जा गरेको आरोप लगाएका छन्।

मन्त्री आर्सेन आभाकोभले उनीहरुको उपस्थितिलाई सशस्त्र अतिक्रमणको संज्ञा दिएका छन्।

तर रुसको ब्ल्याक सीस्थित बेडाले रुसी सैनिकको संलग्नतालाई अस्वीकार गरेको छ।

यसअघि युक्रेनका कार्यवाहक राष्ट्रपतिले क्राइमियास्थित नौसैनिक अखाडाभन्दा बाहिर रुसी सैनिकको कुनै पनि गतिविधिलाई अतिक्रमणको रुपमा लिइने चेतावनी दिएका थिए।