भ्रष्टाचार रोक्न स्थानीय निर्वाचन: कोइराला

  • 1 मार्च 2014
Image caption प्रधानमन्त्री कोइरालाले जेठ भित्रै स्थानीय निकायको चुनाव गराउन आफू लागिपरेको बताएका छन्

प्रधानमन्त्री सुशील कोइरालाले आगामी जेठ महिना सम्ममा स्थानीय निर्वाचन गर्न आफू लागिपरेको बताएकाछन् ।

गृहनगर नेपालगन्जमा सञ्चारकर्मीसग कुरा गर्दै उनले यसका लागि अन्य दलहरुसग पनि छलफल बढाउने बताए।

पछिल्ला दिनहरुमा स्थानीय निकायको निर्वाचन अपरिहार्य भएको धारणा राख्दै आएका प्रधानमन्त्री कोइरालाले सञ्चारकर्मी माझ निर्वाचन गर्नै पर्ने बताएका हुन्।

नेपालमा १६ वर्ष अघि स्थानीय निकायको निर्वाचन भएको थियो।

त्यसको कार्यकाल ११ वर्ष अघि सकिए यता निर्वाचन हुन सकेको छैन।

भ्रष्टाचार

स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय तहमा विकास निर्माणका काम ठप्प भएको र तल्लो तहसम्म भ्रष्टाचार मौलाएको विज्ञहरुले बताउने गरेका छन्।

प्रधानमन्त्री कोइरालाले भने, "पहाडदेखि तराइसम्म निर्वाचित स्थानीय निकाय नहुँदा ठूल्ठूलो भ्रष्टाचार भएको छ। त्यसलाई रोक्नलाई पनि स्थानीय निकायको निर्वाचन गर्नैपर्नेछ।"

स्थानीय निकायको चुनाव भए विकास क्रमसहजै अगाडि बढ्ने भन्दै कोइरालाले निर्वाचन आयोग संगको छलफलमा निर्वाचनका लागि आफूहरु तयार भएको आयोगलाई जानकारी गराउने बताए।

निर्वाचन आयोगले हालै प्रधानमन्त्री कोइरालासँग भेटी स्थानीय निर्वाचन गर्न आफुहरु तयार रहेको बताएको थियो।

छलफल

निर्वाचनका लागि सबै दलहरु तयार हुनुपर्ने र त्यसका लागि आफुले छिटै अन्य दलहरुसंग छलफल थाल्ने प्रधानमन्त्री कोइरालाले बताएका छन्।

संविधानसभा निर्वाचनका बेला आफ्नो पार्टीको घोषणापत्रमा संविधानसभा निर्वाचन सम्पन्न भएको छ महिना भित्रमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने वाचा नेपाली कांग्रेसले गरेको थियो।