प्रधानमन्त्री कोइराला म्यानमार जाँदै

  • 2 मार्च 2014
सुशील कोइराला Image copyright bbc
Image caption प्रधानमन्त्री चुनिएको ३ हप्तापछि कोइरालाले पहिलो विदेश भ्रमण शुरु गर्न लागेका हुन्

प्रधानमन्त्री सुशील कोइराला आफ्नो पहिलो विदेश भ्रमणको क्रममा बिमस्टेकको तेस्रो सम्मेलनमा सहभागी हुन आइतवार म्यानमार जाँदैछन्।

दक्षिण र दक्षिण पूर्वी एसिया क्षेत्रका लागि गठित आर्थिक सहयोग संस्था बिमस्टेकको तेस्रो सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यहाँ जान लागेका हुन्।

उनले त्यहाँ भारतीय प्रधानमन्त्री लगायत यस क्षेत्रका अरु सरकार प्रमुखसँग भेटवार्ता गर्ने उनका सहयोगीहरुले बताएका छन्।

सम्मेलन

मंगलवारदेखि म्यानमारको राजधानी ने पिए डमा हुने दक्षिण र दक्षिण पूर्वी एसियामा आर्थिक सहयोग आदानप्रदानका लागि गठित संस्था बिमस्टेकको तेस्रो सम्मेलनमा कोइरालाले नेपाल सरकारको प्रमुखको हैसियतमा सहभागिता जनाउने छन्।

यही बैठकपछि नेपालले बिमस्टेकको अध्यक्षता गर्ने पालो परेकाले सरकार प्रमुख जानु अनिवार्य भएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले बताए।

उनले भने, “विकसित र विकाशसिल देश सहभागी हुने हँदा उनीहरुसँग भएको आर्थीक र प्रविधिगत ज्ञान नेपालमा ल्याउन पहल गरिनेछ।”

भेटवार्ता

बैठकमा भारत, बंगलादेश लगायत मुलुकका सरकार प्रमुखहरुको पनि सहभागिता रहने बताइएको छ।

त्यसमा सहभागी हुने मुलुकका सरकार प्रमुखसँग प्रधानमन्त्रीले आपसी हितका विषयमा द्वीपक्षीय छलफलका लागि समय मिलाउने काम भइरहेको अधिकारीहरुले बताएका छन्।

आर्थिक सल्लाहाकार नेपालले भारतिय प्रधानमन्त्रीसँग कोइरालाले भेट्न सक्ने जनाए।

प्रधानमन्त्री बनेको तेश्रो साता परेको यो भ्रमण कोइरालालाई अन्तर्राष्ट्रिय समुदायसँग परिचित हुनका लागि राम्रो अवसर हुने परराष्ट्रविदहरुले बताएका छन्।