नियमावली मस्यौदा समितिमा विवाद जारी

  • 2 मार्च 2014
तस्वीर कपीराइट AP
Image caption संविधान कसले जारी गर्ने विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीच फेरि पनि दुरी बढ्ने देखिन्छ

संविधानसभा नियमावली मस्यौदा समितिको बैठक सोमबार बस्ने गरि बिना निष्कर्ष टुङ्गिएको छ।

संविधान निर्माणका विवादित विषयमा हुने मतदानमा सभासद्हरुमाथि ह्विप लगाउन पाइने वा नपाइने, नयाँ संविधान राष्ट्रपति वा सभाध्यक्षले प्रमाणीकरण गर्ने तथा दबाबमूलक समूह ककस गठन गर्न पाउने वा नपाउने लगायतका विषयमा दलहरुबीच विवाद रहेको समितिका एक जना सदस्यले बताएका छन्।

यद्यपि पाँच वटा समिति बनाउनेमा दलहरु सहमत भएका छन्।

आफूले पाएको दोश्रो समयसीमा पुरा गरिसकेको संविधानसभा नियमावली मस्यौदा समितिले मस्यौदा टुङ्गयाउन आइतबार बिहान ८ बजेदेखि करिब १२ घण्टा छलफल गरेको थियो।

समितिका सदस्य तथा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाहका अनुसार नेपाली कांग्रेसले नयाँ संविधान राष्ट्रपतिले प्रमाणीकरण गर्न पाउनुपर्ने धारणा राखेको छ भने एमालेले संविधानसभाका अध्यक्षले प्रमाणीकरण गर्नुपर्ने बताएको छ।

विवाद

समितिमा विवादित मुख्य विषयबारे शाह भन्छन्, ‘’सभासद्हरुमाथि ह्विप लगाउन पाइने वा नपाइने, नयाँ संविधान राष्ट्रपति वा सभाध्यक्षले प्रमाणीकरण गर्ने र दबाबमूलक समूह ककस गठन गर्न पाउने वा नपाउने विषयमा विवाद जारी छ।‘’

संविधानसभाका पाँच वटा समिति बनाउन भने दलहरु सहमत भएको शाह बताउँछन्।

उनका अनुसार मूल समितिको रुपमा राजनीतिक संवाद तथा सहमति समिति रहनेछ।

सहमति

अन्य दुई-दुई वटा विषयगत तथा प्रक्रियागत समितिबारे शाह भन्छन्, ‘’अभिलेख अध्ययन तथा निर्क्यौल समिति, संविधान मस्यौदा समिति, नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति रहने छन्।‘’

मस्यौदा तयार पार्न शुरुमा १० दिनको म्याद पाएको समितिलाई थप सात दिन दिइएको थियो।

थपिएको सात दिनको म्याद पनि शनिबार सकिएको छ।