संविधान प्रमाणीकरणमा फेरि कुरा मिलेन

  • 3 मार्च 2014
संविधानसभा नियमावली मस्यौदा समितिको अर्को बैठक ६ दिन पछि बस्ने भएको छ

राष्ट्रपति परिवर्तनको विषयमा शुरु भएको दुई दलको विमति सँविधानसभाको पहिलो बैठक कसले डाक्ने भन्ने देखि अहिले नयाँ सँविधान राष्ट्रपति वा सभामुख कसले प्रमाणीकरण गर्ने भन्ने विषयमा पुगेर ठोक्किएको छ।

सोमबार बसेको संविधानसभा नियमावली मस्यौदा समितिको बैठक यिनै दुई दलमा संविधानको प्रमाणीकरण राष्ट्रपतिले गर्ने कि सभाध्यक्षले भन्ने विषयमा केही दिनदेखि शुरु भएको विवाद ६ दिनपछि बस्ने गरी विना निस्कर्ष टुंगिएको छ।

बैठकबारे समितिका संयोजक लक्ष्मण लाल कर्णले भने, “संविधानको प्रमाणीकरणमा कांग्रेस र एमालेबीच सहमति नहुँदा विवाद कायमै रहेकोले अब ६ दिनपछि बस्ने गरी टुंगिएको छ।”

विभाजित

संविधानसभाको नयाँ नियमावली बनाउने क्रममा दुई दल फेरि विभाजित देखिएका हुन्।

निर्वाचित भएको तीन महिना बितीसक्दापनि नियमावली बन्न नसक्दा नयाँ सँविधानसभाले सँविधान निर्माणको काम थाल्न पाएको छैन।

राष्ट्रपति परिवर्तन गर्ने विषयमा दुई दलले एक सहमति गरी नयाँ सँविधान जारी नभएसम्म वर्तमान राष्ट्रपतिलाई नै कायम राख्ने बरु उनलाई नयाँ सँविधानसभाले अनुमोदन गर्न राजी भएका थिए।

पहिलो बैठक बोलाउने विवादमाचाहिं राष्ट्रपति स्वयँ पछाडि हटेपछि मन्त्रिपरिषद अध्यक्षले बैठक बोलाए।

अब अहिले राष्ट्रपतिसँगै जोडिएको तेस्रो विवादले फेरि यी दुई दलमाझ नयाँ विवाद जन्मिएको छ।

विवाद

विवादबारे नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “लोकतान्त्रिक अभ्यास अनुसार संविधान प्रमाणीकरण हुनुपर्छ, संविधानको प्रमाणीकरण पुस्तक विमोचन गरेजस्तो होइन। यसको प्रमाणीकरण गर्ने, जारी गर्ने राष्ट्रपतिले हो।”

पहिला कांग्रेसकै सहमतिमा संविधानको प्रमाणीकरण सभाध्यक्षले गर्ने व्यवस्था नियमावलीमा गरिएकोले विवाद झिकेर संविधानको प्रकृया लम्ब्याउन नहुने एमाले नेता प्रदीप ज्ञवालीले बताए।

उनले भने, “यसले दुई दलबीचको सम्बन्धमा अनावश्यक विवाद ल्याइदिने भएकोले यो विवाद नझिकी संविधान निर्माणको काममा केन्द्रित हुनुपर्छ।”

एकसाता अघि मात्रै गृहमन्त्रालयको विवाद टुंग्याएर सम्बन्ध सुधारेको देखिएका दुई दल यसरी संविधानसभाको नियमावलीकै विषयमा विभाजित देखिए पछि उनीहरुले भने जस्तो एक वर्षमै संविधान जारी गर्नेमा धेरैले शंका व्यक्त गरेका छन्।