बिमस्टेकको अध्यक्षता नेपाललाई

  • 4 मार्च 2014
तस्वीर कपीराइट PMO India
Image caption सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग नेपालले व्यापार घाटा कम गर्नु चुनौतीपूर्ण देखिन्छ

नेपाललाई अध्यक्षता हस्तान्तरण गर्दै बंगालको खाडी वरपरका मुलुकहरुको व्यापारिक संगठन बिमस्टेकको शिखर सम्मेलन म्यानमारमा मंगलबार सकिएको छ।

नेपालले अन्तर्राष्ट्रिय व्यापार बढाउनका लागि खाडी वरपरका मुलुकहरुको व्यापारिक संगठन बिमस्टेकको अध्यक्षता गर्न पाएको अवसरलाई ‘उपयोग’ गर्नुपर्ने विज्ञहरुले बताएका छन्।

सम्मेलनमा बिमस्टेकको स्थायी सचिवालय स्थापना र बिमस्टेक मौसम तथा जलवायु केन्द्र स्थापना लगायत मुख्य तीन वटा सहमति भएका छन्।

अतिकम विकसित मुलुकहरुको समूहको अध्यक्षता गरिरहेको नेपालले मंगलबार अर्को क्षेत्रीय संगठनको नेतृत्व पाएको छ।

उपयोग

यो विषय सुखद भएपनि यसको उपयोग बढ्ता महत्वपूर्ण रहेको विज्ञहरुले प्रतिक्रिया दिएका छन्।

यसलाई नेपालले आफ्नो अन्तर्राष्ट्रिय व्यापार बढाउन उपयोग गर्नुपर्ने अर्थविद् डा. विश्वम्भर प्याकुरेल बताउँछन्।

उनी भन्छन्, ‘’बिमस्टेकको अध्यक्षता गर्न पाएको नेपालले आफ्नो व्यापार बढाउनका लागि सहजीकरण गर्नसक्नु पर्दछ।‘’

घाटा

नेपालको वार्षिक व्यापार घाटा ६ खर्ब रुपैयाँ पुग्न लागेको छ।

नेपालको निर्यात गर्ने स्थिति खस्कँदै गएकोले वार्षिक व्यापार घाटा पनि बढ्दै गएको हो।

नेपालले आफ्ना भएभरका निर्यातबाट कमाएको पैसाले तेल आयातलाई मात्र भ्याउन पनि छाडेको छ।

यस्तो बेला व्यापार तथा लगानी बाहेक यातायात र पूर्वाधार निर्माणको एजेण्डालाई प्रमुखताका साथ उठाएको बिमस्टेकको नेतृत्व गर्न पाउनु नेपालका लागि झनै महत्वपूर्ण भएको अर्का अर्थविद् शंकर शर्माको भनाई छ।

यद्यपि बिमस्टेकको नेतृत्व पाएका बेला त्यसबाट कति फाइदा लिन सक्ने भन्ने कुरा नेपालमै निर्भर रहने उनले बताए।

शर्मा भन्छन्, ‘’हामीले ऊर्जा, यातायात र जलवायु परिवर्तन लगायतका एजेण्डा उठाउन सक्छौं, तर त्यसका लागि सशक्त गृहकार्य गरिनुपर्छ।‘’

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क बाहेकका पनि मुलुकहरु बिमस्टेकका सदस्य रहेकाले उनीहरुबाट नेपालले फाइदा लिन सक्ने विज्ञहरु बताउँछन्।

तर नेतृत्व पाएकोमै गर्व गरेर बस्नुभन्दा फाइदा लिनका लागि गृहकार्य थाल्नुपर्ने उनीहरुको भनाई छ।