‘ककसले दलीय पद्धति कमजोर बनाउंछ'

  • 4 मार्च 2014
ca
Image caption पहिलो संविधानसभामा ककसमा आवद्ध सभासदहरुले आफ्नै दलको ह्वीप नमान्ने परिस्थिति उत्पन्न भएको थियो

संविधानसभा नियमावलीमा सभासदहरुको दबाब समूह ककस राख्ने वा नराख्ने भन्ने विषयमा दलहरुबीचको विभाजन गहिरिदैं गएको छ।

विवाद लम्बिदै जांदा संविधानसभा नियमावलीलाई अन्तिम रुप दिने प्रक्रिया पछाडि धकेलिएको छ।

यस्तो विवादमाझ संविधानसभाभित्रै ककस राख्ने प्रावधानले दलीय व्यवस्थालाई नै कमजोर तुल्याउन सक्ने चिन्ताहरु पनि व्यक्त हुन थालेका छन्।

'घातक'

संविधानसभा नियमावलीमा सभासदहरुको दबाब समूह ककस जसरी पनि राख्नु पर्ने अडान एकीकृत माओवादीले लिइरहेका बेला यस्तो प्रावधानले यसले दलीय व्यवस्थालाई नै कमजोर तुल्याउने राजनीतिक विश्लेषकहरुले बताएका हुन्।

दलहरुलाई पाखा पारेर ककसले काम गर्न सक्ने हुनाले त्यो घातक हुन सक्ने उनीहरुको भनाइ छ।

एकीकृत माओवादीको अडान र यसको विपक्षमा रहेका दलहरुको विवादले नियमावलीको मस्यौदा अझै तयार हुन सकेको छैन।

तर एकीकृत माओवादी आफ्नो अडान त्याग्ने पक्षमा देखिदैंन।

उक्त पार्टीका एकजना सभासद गणेशमान पुन भन्छन्, "विषयहरुलाई छोटो बनाउन दबाब समूहले भूमिका खेल्छ। यस्तो समूहको व्यवस्था प्रक्रियाभित्रै राख्नुपर्छ भन्ने हाम्रो माग हो।"

बाहिर

तर ककस राख्दा दलहरुको भूमिका गौण हुन सक्ने हुनाले दलीय व्यवस्थालाई अप्ठ्यारो पार्ने राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बराल बताउंछन्।

उनी भन्छन्, सबै ककस एकठाउंमा बस्ने अनप उनीहरुमाथि दलहरुको नियन्त्रण नहुने अवस्था आउंछ जसले गर्दा दलहरुको भूमिका गौण बन्न सक्छ।

अर्का राजनीतिक विश्लेषक नीलाम्बर आचार्य चाहिं ककस बनाउने नै हो भने बरु संविधानसभा बाहिर बनाउनु पर्ने धारणा राख्छन्।

उनी भन्छन्,"संविधानसभाले राजनीतिक दल र संसदीय दललाई चिन्छ, त्यसबाहेकलाई चिन्दैन। दबाब समूह बाहिर बनाउन सकिन्छ तर संविधानसभाभित्रै बनाउनु दलीय पद्धतिका लागि उपयुक्त होइन।"

अघिल्लो संविधानसभामा जनजाति ककस र महिला ककस थिए।