युक्रेनमा युद्धमा जाने योजना छैन : पुटिन

  • 4 मार्च 2014
तस्वीर कपीराइट Reuters
Image caption युक्रेन र रुस बीच हालैका दिनहरुमा तनाव बढ्दै गएको छ

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनमा अहिले नैं रुसी सैनिकहरु पठाउनु पर्ने आवश्यकता नभएको कुरा बताएका छन्।

तर उनले मस्कोमा पत्रकारहरुलाई भने,पूर्वी युक्रेनका जनताको रक्षा गर्न सबै उपाय अपनाउने अधिकार रुससित सुरक्षित छ।

पुटिनले रुसी सेनाले क्राइमियास्थित युक्रेनी अखाडाहरुलाई घेरामा पारेको कुरा अस्विकार गर्दै तिनीहरु रुस समर्थक आत्मरक्षा गर्ने बल भएको कुरा बताएका छन्।

युक्रेनको राजधानी कियेभमा राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताबाट हटाउनु गैह्र संवैधानिक सत्ता विद्रोह हो भनि पुटिनले बताएका छन्।

उनले भने, उग्रवादीहरुले देशमा अस्तब्यस्तता ल्याएका छन्। पुटिनको भनाइ थियो, पूर्वी युक्रेनका रुसी भाषी जनताले रुसी सहयोग मागे भने रुसले कदम चाल्नेछ।

पुटिनले भने, पूर्वी युक्रेनमा अराजकता फैलियो भने सबै उपायको प्रयोग गर्ने अधिकार हामीसित छ।

उनको भनाइमा आत्मरक्षाका लागि स्थानिय शक्तिहरुले क्राइमियामा सरकारी भवनहरु घेरी राखेका छन्।

पुटिनले पश्चीममाथि राष्ट्रपतिलाई अपदस्थ गर्ने सडक प्रदर्शनहरुलाई प्रोत्साहन दिएको आरोप पनि लगाए।

क्राइमियामा तनाव

रुसले हालैका दिनहरुमा क्राइमियामा थप हजारौं सैन्य पठाएको बताइन्छ।

यानुकोभिचलाई अपदस्थ गरिएको कुराप्रति संकेत गर्दै पुटिनले भने, यानुकोभिचले बिपक्षीका सबै मागहरु पुरा गर्न सहमति जनाइ सकेका थिए।

पुटिनले यानुकोभिचसंग अहिले कुनै शक्ति नभए पनि उनी अझै युक्रेनका वैध राष्ट्रपति हुन् भने।

उनले युक्रेनमा युद्धमा जाने वा क्राइमियालाई रुसमा गाभ्ने आफ्नो कुनै योजना नभएको पनि बताए।

यसै बीच मस्कोले युक्रेनको सीमा नजिकै सैनिक अभ्यास गरी रहेका आफ्ना हजारौं सैनिकलाई ब्यारेकमा फिर्ता जान आदेश दिएको छ।