'अमेरिकी विदेशमन्त्रीद्वारा युक्रेनमा रुसी कदमको निन्दा'

  • 5 मार्च 2014
अमेरिकी विदेशमन्त्री जन केरी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तस्वीर कपीराइट AFP
Image caption विदेशमन्त्री केरीले क्राइमियाको आखाडाभित्र सेना फिर्ता लैजान रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन्

युक्रेनको भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जन केरीले रुसलाई युक्रेनमा डरधम्की र विभिन्न बहानाहरु प्रयोग गरेर आफ्नो शत्रुतापूर्ण व्यवहारलाई लुकाउन खोजेको आरोप लगाएका छन्।

युक्रेनमा अपदस्थ राष्ट्रपति यानुकोभिचको सरकार विराधी प्रदर्शनहरुका क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा फूलको गुच्छा अर्पण गरेका अमेरिकी विदेशमन्त्री जन केरीलाई, उनको देशको सहयोग माग्दै त्यहां उपस्थित भिडले घेरेको थियो।

प्रतिबद्धता

उनी त्यसैका लागि कियभ भ्रमणमा पुगेका थिए: अन्तरिम सरकारलाई नैतिक तथा राजनीतिक सहयोग प्रदान गर्न र देशको अर्थतन्त्रलाई स्थीरता प्रदान गर्न वित्तिय र प्राविधिक सहायताको प्रतिबद्धता व्यक्त गर्न।

तर सबै भन्दा महत्वपूर्ण त उनले मस्कोका लागि सन्देश बोकेर ल्याएका थिए।

उनले जोड दिंदै भने, रुसी सैनिकहरुले युक्रेनमा रहेका रुसीभाषीहरुलाई सुरक्षा प्रदान गरिरहेको भन्ने दावी कुनै प्रमाणमा आधारित छैन।

क्राइमिया क्षेत्रका रुसीभाषीहरुको सुरक्षा गरिरहेको भन्ने रुसको स्पष्टीकरणलाई उनले खाली बहाना मात्र भनेर खारेज गरेका छन्।

उनले आफ्नो चिन्ता र चासो व्यक्त गर्न रुसले युक्रेनमा अतिक्रमण नगरिकनै अन्य थुप्रै विकल्पहरुको पालना गर्न सक्ने बताए।

विकल्प

उनले भने, “यदि रुस युक्रेनमा रहेका आफ्ना जनताका बारे चिन्तित छ भने उस्ले त्यहांको सरकारसंग कुरा गर्न सक्छ, संयुक्त राष्ट्र संघमा गएर त्यहांको सुरक्षा परिषदमा कुरा उठाउन सकिन्छ, ओएससीईमा गएर त्यहांको मानव अधिकार संगठनहरुमा कुरा उठाउन सकिन्छ। “

विदेशमन्त्री केरीले चेतावनी दिंदै भने, "२१ औं शताब्दीमा कसैले पनि अर्को देशमा अति क्रमण गरेर बन्दूकको नाल तेर्साएर आफ्ना मागहरु पूरा गराउन सक्दैन।"

उनले रुसी राष्ट्रपति पुटिनलाई आह्वान गर्दै आफ्ना सैनिकहरुलाई क्राइमियाको अखाडाभित्र फिर्ता बोलाउन भनेका छन्।

अन्यथा रुस राजनीतिक र आर्थिक दृष्टिले झन एक्लिन पुग्ने उनको चेतावनी थियो।