'रुसमा विलय गराउने पक्षमा मतदान'

  • 6 मार्च 2014
एकजना सैनिक Image copyright Reuters
Image caption क्राइमिया अहिले व्यावहारिकरुपमा रुसको नियन्त्रणमा रहेको ठानिएको छ।

क्राइमियाको क्षेत्रीय संसदका बहुसंख्यक सदस्यहरुले क्राइमियालाई रुसमा विलय गराउने पक्षमा मतदान गरेका छन्।

उक्त प्रस्तावमाथि दश दिनभित्र जनमत सँग्रह गराइनेछ, जसलाई रुसी भाषा बोल्ने बहुसंख्यक जनसमुदायले पारित गर्ने अनुमान गरिएको छ।

क्षेत्रीय संसदलाई युक्रेनबाट अलग हुने निर्णय गर्ने अधिकार छैन, तर उक्त प्रायद्वीप अहिले व्यावहारिकरुपमा रुसको नियन्त्रणमा छ।

रुसी सरकारका एकजना सल्लाहकारले बीबीसीलाई भने, क्रेमलिनले उक्त जनमतसंग्रहको विरोध गर्ने संभावना छैन।

मस्कोले क्राइमियालाई रुसी महासंघमा मिलाउन कानुनी प्रावधानहरु खुकुलो बनाउने योजना बनाइसकेको छ।

सम्मेलन

यसैबीच युक्रेनको संकटबारे छलफल गर्न युरोपेली सँघका नेताहरु एउटा आपत्कालिन शिखर सम्मेलनमा भाग लिन ब्रसेल्समा भेला भएका छन्।

युक्रेनका नयाँ प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले भने, स्थितिलाई कसरी स्थिर तुल्याउने भन्ने बारे सांच्चिकै वार्ता गर्न रुस तयार छ वा छैन भन्ने कुरामा नै कुनै पनि समाधान आधारित हुनेछ।

उनले भने, "यो युक्रेन र रुसब‌ीचको सँकट मात्र होइन, यो युरोपको सँकट हो। त्यसैले हामीले मिलेर काम गर्नुपर्छ र यो हाम्रो संयुक्त जिम्मेवारी हो भन्ने हामीले बुझ्नुपर्दछ। यसमा रुसले महत्वपूर्ण निर्णयहरु गर्नुपर्नेछ।"

क्राइमियामा रुसको सैन्य हस्तक्षेपप्रति कस्तो प्रतिकृया जनाउने भन्ने विषयमा युरोपेली सँघका सदस्यहरुबीच मतभिन्नता रहेको छ।

केही पूर्वी युरोपेली मुलुकहरु कडा रवैया अपनाउन चाहन्छन्। तर जर्मन सरकारले उसको रुससंग रहेको वृहत् आर्थिक संबन्धमा नोक्सान पुग्न सक्ने खतराका कारण रुस विरुद्ध नाकावबन्दी नलगाउन आन्तरिक दबाब खेपिरहेको छ।

वार्ता

बुधबार पेरिसमा रुस तथा पश्चिमा सरकारहरु बीच भएको वार्तामा कुनै प्रगति हुन सकेन।

पूर्वी युरोपमा अवस्थित युक्रेन सन् १९९१ मा स्वतन्त्र भएयता निरन्तर राजनीतिक उथलपुथल भोग्दै आएको छ।

अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको प्रतिस्पर्द्धा र अस्थिरताको केन्द्रमा रहेको युक्रेनको सामरिक महत्व रहेको छ।

पूर्वतिर रुस र पश्चिमपट्टि पोल्याण्ड, रोमानिया, हंगेरी आदि युरोपेली देश तथा दक्षिणमा ब्ल्याक सीले घेरिएको युक्रेनलाई बीचबाट बग्ने द्नेपर नदीले लगभग दुई भागमा बाँडेको छ।

रुससँग जोडिएको पूर्वी युक्रेन धार्मिक, भाषिक र साँस्कृतिक हिसाबले पनि रुसकै विस्तार जस्तो देखिन्छ।