'ठग शेयर दलाल कारवाहीमा'

  • 7 मार्च 2014
Image caption दलालहरु कारवाहीमा पर्न थालेपछि धेरै गाउँलेहरुले शेयर फिर्ता पाउन थालेको कम्पनीले बताएको छ

रसुवा जिल्लामा सञ्चालित चिलिमे जलविद्युत कम्पनीले स्थानीय वासिन्दालाई दिएको १० प्रतिशत शेयरमा दलालले ठगी गरेको थाहा पाएपछि कम्पनी र जिल्ला प्रशासन कार्यालयले त्यसबारे कारवाही अगाडी बढाएको छ।

चिलिमे जलविद्युत कम्पनीले स्थानीयबासीलाई तीन वर्षदेखि रोक लगाउँदै आएको शेयर कारोबार गत माघ १२ गतेबाट बिक्रीका लागि खुल्ला गरेको थियो।

ठगी

कम्पनीले कारोबार खोले लगत्तै गाउँगाउँमा दलालहरु पुगेर शेयरको पर्याप्त जानकारी नभएका स्थानीय शेयरधनीहरुलाई ललाइफकाइ गरेर १६ सय भन्दा बढी बजार मूल्य पुगेको शेयर ६ सय देखि ९ सय रुपैयाँसम्ममा किनेको पाइएको कम्पनीले जनाएको छ।

स्थानीयहरु ठगिएकोबारे कम्पनीमा उजुरी परेपछि आफूहरुले सरोकारवाला निकायलाई शेयर कारोबारबारे सचेत हुन आग्रह गरेको कम्पनीका प्रवन्ध सञ्चालक कुलमान घिसिङले बताए।

घिसिङले भने, “त्यसरी गाउँलेलाई ठगेका व्यक्तिले शेयर नबेच्नका लागि हामीले स्वयम् शेयरधनी उपस्थित गराइ हस्ताक्षर रुजु गर्न नागरिक लगानी कोषलाई पत्र लेखेका छौं।”

बोनससहित अहिले स्थानीयको करीब २२ लाख कित्ता शेयर पुगेकोमा ३ लाख भन्दा बढी कित्ता शेयर दलालहरुले झुक्काएर सस्तोमा किनीसकेको कम्पनीले बताएको छ।

कारवाही

नमुनाको रुपमा आएको यस्तो आयोजनाले स्थानीयलाई नै ठगीरहेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले पनि कारबाही अघि बढाएको छ।

प्रारम्भिक अनुसन्धानबाट त्यस्ता दलालहरु स्थानीयहरु नै भएको थाहा भएपछि कारवाहीको प्रकृया अघि बढाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले बताए।

घिमिरेले भने, “प्रारम्भिक अनुसन्धानबाट दोषी देखिएकालाई कारवाही अगाडी बढाउन हामीले उनीहरुको विवरणसहित धितोपत्र बोर्डमा बुझाइसकेका छौं।”

आर्थिक सहायता होस् भनेर स्थानीयलाई दिएको उक्त शेयरको मूल्य बढ्दै गइरहेको बेला त्यसलाई दलालको हातमा नदिन गाउँगाउँमा जनचेतना जगाउने काम पनि भइरहेको कम्पनीले जनाएको छ।