युक्रेनका बारे अमेरिकी-रुसी राष्ट्रपति फोनवार्ता

  • 7 मार्च 2014
राष्ट्रपति बाराक ओबामा तस्वीर कपीराइट Reuters
Image caption गत मार्च १ तारिखमा पनि राष्ट्रपति ओबामा र राष्ट्रपति पुटिनबीच लामो टेलिफोन वार्ता भएको थियो

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले क्राइमियामा रुसले चालेको कदम युक्रेनको सार्वभौमिकता विपरित भएकोमा जोड दिंदै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसंग अर्को एउटा लामो टेलिफोन वार्ता गरेका छन्।

ह्वाइट हाउसले जारी गरेको एक विज्ञप्तीका अनुसार, अमेरिकी र रुसी नेताहरुबीच झण्डै एकघण्टा लामो कुराकानी भएको थियो।

उक्त विज्ञप्तीका अनुसार राष्ट्रपति ओबामाले युक्रेनी संकटलाई कुटनीतिक रुपमा समाधान गर्नका लागि आवश्यक ‌कदमहरु विस्तृत रुपमा प्रस्तुत गरेका थिए।

समाधान

अमेरिकी अधिकारीहरुले प्रस्ताव गरेका त्यस्तो समाधानमा रुसी र युक्रेनी सरकारहरुबीच प्रत्यक्ष वार्ता हुनु पर्ने, रुसी सैनिकहरु आफ्ना अखाडामा फिर्ता हुनु पर्ने र त्यहां अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई खटाइनु पर्ने लगायतका कुराहरु पर्दछन्।

क्रेमलिनका अनुसार राष्ट्रपति पुटिनले विश्वमा शान्ति तथा सुरक्षाको वातावरण बनाइराख्‍न मस्को र वाशिंगटनबीचको सम्बन्ध एकदमै महत्वपूर्ण रहेको र वर्तमान संकटका कारण त्यस्तो सम्बन्ध प्रभावित हुन नहुने बताएका थिए।

तस्वीर कपीराइट RIA Novosti
Image caption क्राइमियाको संसदले रुसी महासंघमा संलग्न हुने पक्षमा मतदान गरेको थियो

ति दुई राष्ट्रपतिहरुबीचको कुराकानी अमेरिकाले रुसलाई दबाब दिन युक्रेनको सार्वभौमिकता उलंघन गर्न उस्ले जीम्मेवार ठानेका अधिकारीहरु विरुद्ध प्रतिबन्धहरुको घोषणा गरेपछि भएको छ।

त्यसअघि क्राइमियाको संसदमा भएको मतदानमा युक्रेनबाट अलग हुने पक्षमा अत्यधिक बहुमतको समर्थन देखिएपछि बोल्दै राष्ट्रपति ओबामाले युक्रेनको भविष्यका सम्बन्धमा गरिने कुनै पनि प्रस्तावमा कियभस्थित सरकारलाई पनि सहभागी गराइनु पर्ने भनेका थिए।

गैरकानूनी यसैबीच, क्राइमिया क्षेत्रले रुससंग मिल्ने विषयमा जनमत संग्रह गर्ने निर्णय गरेकोमा त्यो कदम गैरकानूनी भएको भन्ने युक्रेन सरकारको भनाईलाई युरोपेली संघ र संयुक्त राज्य अमेरिकाले साथ दिएका छन्।

ब्रसल्समा भएको युरोपेली संघको बैठकले युक्रेन संकटको तनाव कम गर्न रुसले कदम नचाले त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएको छ।

युरोपेली नेताहरुको आपतकालिन शिखर बैठकपछि रुसी नागरिकहरुलाई प्रवेशाज्ञा विना यात्रा गर्न दिने विषयको वार्ता स्थगित गरिएको घोषणा गरिएको छ।

युरोपेली आयोगका अध्यक्ष हर्मन भन रोम्पोईले क्रेमलिन वार्ताको टेबलमा नआए थप दण्डात्मक कदमहरु चालिने बताएका छन्।

उनले भने, “वार्ताहरु केही दिन भित्रै हुनु पर्दछ र निर्धारित समय सिमा भित्रै परिणामहरु प्राप्त हुनु पर्दछ।

"कुनै परिणाम ननिस्के युरोपेली संघले यात्रा प्रतिबन्ध, सम्पत्ति रोक्का र इयु रुस शिखर सम्मेलन स्थगन जस्ता कदमहरु बारे निर्णय गर्नेछ।“

त्यसअघि क्राइमियाका सांसदहरुले रुसी संघमा समावेश हुने निर्णय गर्दै त्यसबारे आगामी मार्च १६ गते देशमा जनमत संग्रह गरीने घोषणा गरेका थिए।

क्राइमियाको संसदले त्यस्को प्रकृया आरम्भ गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरिएको बताएको थियो।