'मेरो शरीर, मेरो अधिकार'

  • 7 मार्च 2014
नेपाली महिला तस्वीर कपीराइट bbc
Image caption महिलामाथि हुने विभेदका कारण प्रजनन स्वास्थ्य समस्या उब्जिएको अधिकारकर्मीहरुको भनाई छ

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय निकाय एमनेष्टि इन्टरनेशनलले महिलाहरुको पाठेघर वा आङ्ग खस्ने समस्यालाई मानव अधिकार हननको रुपमा लिन नेपाल सरकारलाई आव्हान गरेको छ।

उक्त सँस्थाका महासचिव शलील शेट्टीले परराष्ट्रमन्त्रीलाई भेटी उक्त समस्यालाई केवल महिला स्वास्थ्यको विषय मानेर हल्का रुपमा नलिन आग्रह गरेका हुन्।

नेपालमा करीब ६ लाख महिलाहरु यस्तो समस्याबाट पीडित भएको ठानिएको छ।

समस्या

अघिल्लो महिना राजधानी आइपुगेकी दैलेखकी एक महिलाले आङ्ग खसेको विषयमा आफ्नो अनुभव यसरी सुनाएकी थिइन्, “पाठेघर झरेकै महिलाले धेरै भनाइ खानुपर्छ। चोर त्यही हुनुपर्ने, बोक्सी त्यही हुनुपर्ने, मेलापातको सहयोग उसैलाई नहुने।”

उनले सुनाएको अनुभवले आङ्ग खस्ने समस्या भएका महिलाहरुले शारीरिक मात्र नभई मानसिक यातनापनि सहन वाध्य हुनुपरेको देखाउँछ।

खासगरी गाउँघरमा कठिन घरधन्दामा संलग्न र निरन्तर गर्भवती हुन वाध्य महिलाहरु उचित पोषणको अभावमा पाठेघरले आफ्नो ठाउँ छाडेर तल झर्ने समस्याबाट पीडित हुने गर्छन्।

उनीहरुका यस्तो समस्या बेलैमा समाधान नगर्दा पीडितहरुलाई सामान्य हिँडडुल गर्नपनि अप्ठेरो पर्छ।

असन्तुष्टि

यो समस्या झेल्न वाध्य महिलाहरुको जीवन निकै कष्टकर र पीडादायी त छँदैछ।

यसले पु-याउने मानसिक आघात र हुने मानव अधिकारको हनन उत्तिकै गम्भीर हुने गर्छ।

हालसम्म यसलाई केवल महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको रुपमा मात्रै चित्रण गरिएकोप्रति एमनेष्टी इन्टरनेशनलले असन्तुष्टि जनाउँदै आएको छ।

नेपाल भ्रमणमा रहेका सो संस्थाका महासचिव शेट्टिले सोही मुद्दा परराष्ट्रमन्त्री महेन्द्र पाण्डे सामु उठाएको एमनेष्टी नेपालका प्रमुख रामेश्वर नेपालले बताए।

विगतमा राजनीतिक द्वन्द्व तथा त्यस सम्बद्ध मानवअधिकारका विषयहरुलाई प्रमुखता दिँदै आएको एमनेष्टीले यस विषयलाई समेट्नु पर्ने विषयमा पनि महासचिव शेट्टीसँग सोधिएको थियो।

उनले भने, “हुनत यो स्वास्थ्य समस्या हो। तर यसको जड भनेको महिलाहरुको अधिकारलाई सम्मान गर्न नसक्नु र उनीहरुविरुद्ध हुने विभेद नै हो।”

रोकथाम

आङ्ग खस्ने समस्यालाई स्वास्थ्य समस्याको रुपमा मात्रै लिने गरियो भने यसको दीर्घकालीन समाधान नहुने उनको भनाइ थियो।

त्यसमा थप्दै उनले भने, “अहिले त ध्यान केवल अपरेशन गरिदिने भन्नेमा मात्रै छ। तर हाम्रा निम्ति जरुरी भनेको त रोकथाम गर्नु हो। अपरेशन गर्ने स्थिति आउनु भनेको त निकै पछिको स्थिति हो। यो समस्या मानव सिर्जित हो र यसलाई पुरै रोक्न सकिन्छ।”

यो समस्या पुरै रोक्न सजिलो भने अवश्य देखिँदैन।

पछिल्ला आंकडा अनुसार नेपालमा प्रत्येक ३ मध्ये १ महिलाको कम उमेरमै विहे हुन्छ। अधिकांश ती महिला कम उमेरमै पटकपटक गर्भवती हुन वाध्य छन्।

देशका करीब एक तिहाई महिलाको परिवार नियोजनका साधन सम्म पहुँच छैन।

यीनै डरलाग्दा आँकडाहरुको पृष्ठभूमिमा एमनेष्टी इन्टरनेशनलले नुवाकोट जिल्लाको समुन्द्रटारबाट महिलाहरुको स्वास्थ्य अधिकारप्रति लक्षित ‘मेरो शरीर, मेरो अधिकार’ नामक विश्वव्यापी अभियान घोषणा गरेको थियो।