स्थानीय चुनावको मिति तोक्न आग्रह

  • 8 मार्च 2014
Image caption निर्वाचन आयोगले जेठपछि वर्षायाम शुरु हुने भएकोले त्यसअघि नै चुनाव हुनुपर्ने बताएको छ

निर्वाचन आयोगले जेठमा स्थानीय निकायको निर्वाचन गराउने भए फागुन मसान्तभित्र चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ।

आयोगले चुनावको मिति घोषणा भएपछि त्यसअनुसार आवश्यक तयारी गर्न सकिने बताउँदै आएको छ।

प्रधानमन्त्री सुशील कोइरालासँग शनिबार भेटेका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सरकारले निर्वाचनसम्बन्धी ऐनमा संशोधन र मिति घोषणा गरेपछि मात्र निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण लगायतका काम थाल्न सक्ने बताए।

उनले जेठमा स्थानीय निकायको निर्वाचन गर्ने भए एक साताभित्र सरकारले मिति घोषणा गरिसक्नुपर्ने जनाए।

संशोधन

उनले भने, ‘’फागुन मसान्तभित्र मिति घोषणा र चैत पहिलो सातासम्म कानुनमा संशोधन भए जेठमा निर्वाचन गराउन सकिन्छ।‘’

स्थानीय निर्वाचन गराउनका लागि विद्यान ऐनहरुमा गर्नपर्ने संशोधनबारे आयोगले एकजना सहसचिवको संयोजकत्वमा कार्यदल समेत गठन गरिसकेको छ।

प्रमुख निर्वाचन आयुक्त उप्रेतीले दोस्रो संविधानसभा निर्वाचनका लागि कानुनमा संशोधन गर्न भएको ढिलाईले गर्दा असहज स्थिति भएको भन्दै सरकारले समयमै कानूनी आधार तयार गर्नुपर्ने बताए।

तर सूचना तथा संचारमन्त्री एवम् सरकारका प्रवक्ता मिनेन्द्र रिजालले ऐन कानुनहरुमा व्यापक परिवर्तन गर्न खोजिए दलीय प्रतिबद्धताअनुसार ६ महिनाभित्र निर्वाचन गर्न नसकिने बताए।

सहमति

उनले ऐनहरुमा सामान्य हेरफेर गरी निर्वाचनका लागि सहमति जुटाउन प्रयास गरिने पनि बताए।

मन्त्री रिजालले भने, ‘’ऐनमा धेरै परिवर्तन ल्याउन खोजिए समयमा निर्वाचन हुन नसक्ने भएकाले सामान्य परिवर्तन गरी चुनावको घोषणा गर्न दलहरुसँग छलफल गर्छौं।‘’

चुनाव कुन प्रणाली अपनाएर गर्ने भन्ने मुख्य चुनौती हुने कतिपयको भनाइ रहँदै आएको छ।

तर पहिले पनि तुलनात्मक रुपमा समावेशी रहेको स्थानीय निकाय विद्यमान ऐनलाई सामान्य हेरफेर गरे मात्र पनि अझ बढी समावेशी बन्ने जानकारहरुको भनाइ छ।