'प्रतिबन्ध नलगाउन युरोप र अमेरिकालाई चेतावनी'

  • 8 मार्च 2014
सेर्गेइ लाभ्रोभ र जन केरी तस्वीर कपीराइट AP
Image caption रुसी विदेशमन्त्रीले प्रतिबन्ध नलगाउन अमेरिकी समकक्षीलाई टेलिफोन मार्फत सावधान गराएका थिए

रुसले आफू विरुद्ध प्रतिबन्धहरु लगाइए त्यस्को प्रतिवाद गर्ने संयुक्त राज्य अमेरिका र युरोपलाई चेतावनी दिएको छ।

रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले अमेरिकी विदेशमन्त्री जन केरीलाई, हतारमा पूर्ण सोचविचार नगरीकन कुनै पनि त्यस्तो कदम नचाल्न सुझाव दिएका छन् जस्का कारण रुस र अमेरिकी सम्बन्धमा आंच पुग्न सकोस्।

विदेशमन्त्री केरीसंगको टेलिफोन वार्तामा रुसी विदेशमन्त्री लाभ्रोभले सावधान गराउंदै भने, क्राइमियामा रुसको गतिविधिलाई लिएर लगाइने प्रतिबन्धहरुको विपरित असर पर्न सक्नेछ।

नकारात्मक प्रभाव

त्यस्ता प्रतिबन्धहरुले उल्टै अमेरिकालाई नकारात्मक प्रभाव पार्ने निश्चित भएको भन्दै उनले सावधान गराएका थिए।

ह्वाइट हाउसले रुसी अधिकारीहरुको विदेशस्थित सम्पति रोक्का गर्ने र तिनीहरुको यात्रामा प्रतिबन्ध लगाउने चेतावनी पहिले नै जारी गरिसकेको छ।

अर्को अलग्गै घटनामा, मस्कोले युरोपेली संघलाई पनि तिनीहरुले लागू गर्ने प्रतिबन्धप्रति रुसले प्रतिक्रिया जनाउने चेतावनी दिइसकेको छ।

पश्चिमा देशहरुको दबाबका माझ रुसले युक्रेनमा आफ्नो गतिविधि कम गर्ने कुनै संकेत देखाएको छैन।

मस्कोमा नै, रुसी संसदको माथिल्लो सदनका प्रमुखले, क्राइमियाका संसदहरुको एउटा प्रतिनिधि मण्डलसंग भेट गर्दै, तिनीहरुको प्रायद्वीपसंग आत्म निर्णयको अधिकार भएको बताएकी छिन्।

समर्थन

शुक्रबार रुसी संसदको माथिल्लो सदनले रुसमा मिसिने क्राइमियाको जनताको चाहनालाई आफूहरुको समर्थन रहने घोषणा गरेको थियो।

सदनकी प्रमुख भ्यालेन्टीना मात्भीयेन्कोले भनिन्, “यदि क्राइमियाका जनताले जनमत संग्रहबाट रुसमा मिसिने आफ्नो चाहना व्यक्त गर्दै निर्णय लिएमा, हामी संसदको माथिल्लो सदनको हैसियतले त्यस्तो निर्णयलाई समर्थन गर्नेछौं।“

क्राइमियामा उच्च तनाव कायमै छ तर त्यहांको एउटा क्षेप्यास्त्र प्रतिरक्षा सैनिक एकाईमा उत्पन्न भएको मुठभेडस्थिती शान्तिपूर्वक समाधान भएको छ।