साँझपख लोडसेडीङ घटाउने गृहकार्यमा उर्जामन्त्री

  • 9 मार्च 2014
जलविद्युत केन्द्र तस्वीर कपीराइट no credit
Image caption वर्षायाम आउन अझै चार महिना कुर्नु पर्ने हुँदा लोडसेडीङ घटाउने योजना चुनौतिपूर्ण हुन सक्छ

उर्जा मन्त्री राधा ज्ञावालीले बीबीसीसंग कुरागर्दै खासगरि साँझपख लोडसेडीङ घटाउन विभिन्न उपायहरुको अध्ययन गरि सुझाव दिन मन्त्रालयले एक समिति बनाएको बताइन्।

तर लोडसेडिङ कुन मितिबाट घट्ने हो त्यो उनले प्रस्ट पार्न सकिनन्।

ज्ञावालीले उर्जा मन्त्रालय सम्हालेको दुई हप्ता पनि भएको छैन, तर उनले साँझको बेला लोडसेडीङ घटाउन मन्त्रालयमा एक समिति गठन भएर गृहकार्य शुरु भइसकेको बताइन्।

अध्ययन

“साँझ खाना पखाउन गाह्रो भयो एसएलसीको तयारी गरिरहेका विद्यार्थीहरुलाई पनि कसरी सजिलो बनाउने भनेर लोडसेडीङ कम गर्न हामी अध्ययन गरिहरेका छौं।”

देशमा अहिले ११ सय मेगावाट जति बिजुलीको माग रहेको तर आपूर्ती त्यस्को आधा पनि हुन नसक्दा नेपाल विद्युत प्राधिकरण दैनिक १२ घन्टा लोडसेडीङ गर्न बाध्य भएको बताइन्छ।

साँझ लोडसेडीङ घटाउन कुलेखानी चलाउने र भारतबाट थप बिजुली ल्याउने जस्ता उपायबारे अध्ययन भइरहेको मन्त्री ज्ञावालीले बताइन्।

तर जलविद्युत बारेका एक जानकार तथा स्वतन्त्र उर्जा उद्यमी हरिबैरागी दाहालले वर्तमान अवस्थामा लोडसेडीङको दीर्घकालीन विकल्प निकाल्नु पर्नेमा जोड दिए।

‘दीर्घकालीन’

“कुलेखानी चलाएर केही हप्ता, केही महिना मात्र लोडसेडीङ घट्न सक्छ, मन्त्रीज्युले लोडसेडीङ हटाउने दीर्घकालीन उपायमा ध्यान दिनु पर्ला।”

नदि नालामा आधारित भएको हुनाले नेपालमा हिउँद र सुख्खायाममा भन्दा बर्षा याममा विजुलीको उत्पादन बढ्ने गर्दछ।

तर विद्युत पुर्वाधारको अभावकाबीच वर्षायाम आउन अझै चार महिना कुर्नु पर्ने हुँदा मन्त्री ज्ञावालीको लोडसेडीङ घटाउने योजना चुनौतिपूर्ण हुन सक्छ।