क्राइमियालाई गाभ्ने कदम नचाल्न चेतावनी

  • 9 मार्च 2014
रुस समर्थक क्राइमियालीहरु तस्वीर कपीराइट AFP
Image caption क्राइमियाको 'नयां सेनाका सदस्य'हरु भन्दै एउटा आत्मरक्षा सैन्य तयार पारिएको बताइएको छ

संयुक्त राज्य अमेरिकाले भनेको छ, क्राइमियालाई आफूमा मिलाउन रुसबाट हुने कुनै पनि कदमले कुटनीतिको ढोका बन्द गर्नेछ। रुसी विदेशमन्त्रीसंगको एउटा टेलिफोन वार्तामा अमेरिकी विदेशमन्त्री जन केरिले त्यस्तो सन्देश दिएका हुन्।

अमेरिकी विदेशमन्त्री जन केरीले उनका रुसी समकक्षी सेर्गेइ लाभ्रोभसंग कुरा गर्दै, क्राइमिया युक्रेनको भाग भएको र मस्कोले त्यहां सैनिक गतिविधिलाई प्रोत्साहित गर्न नहुने बताएका छन्।

अमेरिकीविदेश मन्त्रालयका एकजना अधिकारीका अनुसार दुई विदेशमन्त्रीहरुबीच त्यसप्रकारको वार्ता शनिवार भएको थियो।

छलफल

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले, त्यहांको गहिरिंदो संकटका बारे विश्व नेताहरुसंग छलफल गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमियामा रहेका जातीय रुसीहरुको अधिकार र त्यहां रुसको हितका चासोहरुको रक्षा गर्नु उनको अधिकार भएकोमा जोड दिएका छन्। त्यसअघि विदेशमन्त्री लाभ्रोभले युक्रेनको संकटलाई उनकै शब्दमा कृत्रिम तरिकाले र भुराजनीतिक कारणले सिर्जना गरिएको टिप्पणी गरेका थिए।

तस्वीर कपीराइट AFP
Image caption रुसी नौसेनाले क्राइमियााको बन्दरगाहमा अवरोध पुर्याइरहेको बताइएको छ

क्राइमियामा प्रवेश गर्न खोजेका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको टोलीलाई त्यहांबाट फिर्ता पठाइंदै गर्दा चेतावनी स्वरुप गोली चलाइएपछि यि पछिल्ला गतिविधि भएका छन्। उक्त गोली चलेको घटनामा कसैलाई पनि चोटपटक नलागेको युरोपीय सुरक्षा तथा सहयोग संगठन, ओएससीइ,ले जनाएको छ।

तेस्रो घटना

हाल रुस समर्थक सैन्यको नियन्त्रणमा रहेको क्राइमियामा प्रवेश गर्न ओएससीइ लाई अनुमति नदिइएको त्यो तेस्रो पटकको घटना थियो।

उता क्षेत्रीय राजधानी सीम्फेरोपोलमा, क्राइमियाका रुस समर्थक नेता सेर्गेई आक्स्योनोभले, क्राइमियाको नयां सेनाका लागि भन्दै आत्मरक्षा स्वयंसेवकहरुको सपथग्रहण कार्यक्रम गरेका छन्।

मस्कोले क्राइमिया प्रायद्वीपमा आफ्नो सैनिक पकड बढाउंदै लगेको छ र त्यहांका रुस समर्थक अधिकारीहरुले मार्च १६ तारिखमा युक्रेनबाट अलग्गीएर रुससंग मिल्ने विषयमा जनमतसंग्रहको घोषणा गरेका छन्।