विमानको खोजी तीव्र बनाउन चीनको आग्रह

  • 10 मार्च 2014
तस्वीर कपीराइट Reuters
Image caption खोजी कार्य अझै तीब्र बनाइने मलेसिया सरकारले बताएको छ

चीन सरकारले तीन दिनदेखि हराइरहेको विमानको खोजीकार्य थप प्रभावकारी बनाउन मलेसिया सरकारलाई आग्रह गरेको छ।

विमान पत्ता लगाउन थालिएका बहुराष्ट्रिय प्रयासहरु सफल हुन सकेका छैनन्।

विमानको पछिल्लो जानकारी दिने क्रममा एकजना मलेसियाली नागरिक उड्डयन अधिकारीले विमानमा चोरीको राहदानी प्रयोग गरी सवार रहेको भनिएका दुई यात्रुहरु एसियाली मूलका जस्ता नदेखिएको बताए।

चोरीको राहदानी प्रयोग गरेका भनिएका दुई मध्ये एक यात्रुको पहिचान भइसकेको पनि उनले बताए।

ती मानिसको पहिचान सार्वजनिक गरिएको छैन, तर उनी मलेसियाली नागरिक भने नभएको बताइएको छ।

खोजी जारी

ती अधिकारीले भने, “ती दुई यात्रुको भीडियो फुटेज हामीले हे-यौं। यसबाट हामी यो भन्न सक्छौँ कि ती दुई एसियाली मूलका पुरुषजस्ता देखिँदैनन्।”

यसअघि उक्त विमानको लाइफ -याफ्ट सागरमा तैरिरहेको भन्ने खबर पुष्टि हुन सकेन।

त्यस्तै सागरमा तैरिरहेको भनिएको तेलको रासायनिक अध्ययन गर्दा सो तेल विमानबाट आएको हुन नसक्ने थाहा लागेको छ।

राजधानी क्वालालम्पुरबाट बेइजीगतर्फ उड्दै गर्दा सो विमान रेडारबाट हराएको थियो।

विमानमा सवार यात्रुका आफन्तजनलाई नराम्रो समाचारका निम्ति तयार रहन भनिएको छ।

सो विमानमा १५० चिनियाँ यात्रु रहेका थिए।

चिनियाँ अधिकारीहरुले मलेसियालाई तदारुकताका साथ खोजबिन गर्न अनि सत्य समाचार प्राप्त हुनासाथ उनीहरुलाई जानकारी गराउन भनेका छन्।

आलोचना

चीनका केही अखबारले मलेसियाली उड्डयन तथा सुरक्षा प्रणालीको तीखो आलोचना गरेका छन्।

मलेसियाली अधिकारीहरुले चाहिँ आफुहरुले सक्दो गरिरहेको जनाएका छन्।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका अनुसार ती यात्रुले वर्षौँ पहिले थाइल्याण्डबाट चोरिएका इटालियन तथा अष्ट्रियन राहदानी प्रयोग गरेका थिए।

हाल मलेसिया तथा भियतनामको तटबाहिरका समुद्री इलाकामा दश देशका ४० पानी जहाज तथा ३४ विमान खोजकार्यमा जुटेका छन्।

अनुसन्धानकर्ताहरुले आतंकवादी कार्य लगायत सबै पाटोबाट विमान हराइरहेकोबारे अनुसन्धान गरिरहेको बताएका छन्।